नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभरि सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय दुईदिने समीक्षा गोष्ठी मंगलबार चरिकोटमा सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा सोमबार र मंगलबार आयोजित गोष्ठीमा जनस्वास्थ्य कार्यालय, जिल्लाका नौवटै स्थानीय तह तथा सरकारी र निजी अस्पतालहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका स्वास्थ्यसम्बन्धी गतिविधि, उपलब्धि तथा चुनौती प्रस्तुत गरेका थिए।
गोष्ठीमा स्वास्थ्य क्षेत्रमा भएका असल अभ्यास तथा अनुभव आदानप्रदानका लागि छिमेकी जिल्ला रामेछाप र सिन्धुपाल्चोकका जनस्वास्थ्य कार्यालय तथा केही स्थानीय तहका प्रतिनिधिले समेत आफ्ना नयाँ अभ्यास र अनुभव प्रस्तुत गरेका थिए।
गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा विगु गाउँपालिका पहिलो, भीमेश्वर नगरपालिका दोस्रो र कालिञ्चोक गाउँपालिका तेस्रो भएका छन्। उत्कृष्ट अंक प्राप्त गर्ने स्थानीय तहलाई कार्यक्रममा कदरपत्रसहित सम्मान गरिएको थियो।
समीक्षा गोष्ठीमा जिल्लाका विभिन्न तहका स्वास्थ्य सेवा प्रदायक निकायबाट सञ्चालित कार्यक्रमको एकीकृत तथ्याङ्क व्यवस्थापन प्रभावकारी हुन नसक्दा जिल्लाको समग्र स्वास्थ्य रणनीति निर्माणमा चुनौती देखिएको विषयमा समेत छलफल भएको थियो।
त्यस्तै, देशको नीतिगत तथा प्रशासनिक व्यवस्था व्यवहारिक रूपमा जटिल हुँदा नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भइरहेको तथा कतिपय स्वास्थ्यसम्बन्धी संयन्त्रले अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको विषयमा सहभागीहरूले धारणा राखेका थिए।
गोष्ठीले जिल्लाको स्वास्थ्य क्षेत्रका उपलब्धि, समस्या र चुनौती पहिचान गर्दै आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक रणनीति तथा सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij