Oct 07 2026 | २०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा एआईजी दाहालमाथि छानबिन

संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा एआईजी दाहालमाथि छानबिन

नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि संवेदनशील सुरक्षा सूचना अनधिकृत रूपमा चुहाएको आरोपमा छानबिन सुरु भएको छ। सरकारले दाहाललाई निलम्बन गर्दै घटनाको छानबिनका लागि अर्का एआईजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको उजुरी परेपछि छानबिन अघि बढाइएको हो। जाँचबुझ अधिकृत पोखरेललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ। यद्यपि, मन्त्रालयले दाहालले कुन संवेदनशील सूचना चुहाएको भनिएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको राति अनुमति नलिई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर भेटेको आरोपसमेत छ। दाहाल जबराका नातेदारसमेत हुन्।

त्यसैगरी, प्रहरी हिरासतमा रहेका इनाम सापकोटा र दाहालबीच सम्पर्क तथा संवेदनशील सूचना आदानप्रदान भएको तथ्य अनुसन्धानका क्रममा फेला परेको स्रोतको दाबी छ। यद्यपि, यी आरोपहरूबारे अन्तिम निष्कर्ष भने छानबिन प्रतिवेदनपछि मात्रै स्पष्ट हुने छ।

दाहालमाथि लगाइएका आरोप पुष्टि भएमा पदीय गोपनीयता तथा सुरक्षा सूचनाको संरक्षणसम्बन्धी कानुनी दायित्व उल्लङ्घन गरेको ठहरिन सक्ने बताइएको छ।

दाहालको चारवर्षे पदावधि आगामी असोज २८ गते पूरा हुँदैछ। केही दिनअघि मात्रै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले उहाँको पदावधि थप गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

यसैबीच, गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय मर्यादाविपरीत गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाए कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।

मङ्गलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका व्यक्तिले गोप्य सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताउनुभएको छ। उहाँले अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीसमेत महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ।

सरकारले सुरक्षा निकायभित्रको सूचनाको गोपनीयता र पदीय मर्यादा कायम गर्न कडाइ गर्ने संकेत गरिरहेका बेला एआईजी दाहालमाथि सुरु भएको छानबिनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार