नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । दसैँलाई लक्षित गर्दै आगामी शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको उच्चस्तरीय बैठकले दसैँमा घर जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बिक्री खुला गर्ने निर्णय गरेको हो।
बैठकले घटस्थापना अर्थात् असोज २५ गतेदेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णयसमेत गरेको छ। यद्यपि, सडकको विशेष प्रकृतिका कारण निश्चित आकार वा प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएका मार्गमा भने सम्बन्धित प्रतिबन्ध कायमै रहनेछ।
यसैगरी, घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइनेछ।
यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाका अनुसार बाढीपहिरोका कारण सडकमा समस्या रहे पनि मर्मतसम्भार तथा आवश्यक स्थानमा ट्र्याक खोलेर यातायात सञ्चालन गर्ने तयारीसहित अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो। वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले आवश्यक स्थानमा डोजर तथा उपकरण परिचालन गरी तत्काल सडक खुलाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
दसैँको समयमा यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने वा टिकट बिक्रीमा अनियमितता गर्ने जोकोहीमाथि कडा कारबाही गरिने विभागले जनाएको छ। यात्रुलाई आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्न आग्रह गर्दै विभागले बढी भाडा लिएको पाइए तत्काल ट्राफिक प्रहरीसमक्ष उजुरी गर्नसमेत आग्रह गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार नयाँ बसपार्क, चाबहिल, बल्खु, कोटेश्वरलगायत तोकिएका स्थानबाट अग्रिम टिकट बिक्री गरिनेछ। विगतका वर्षमा दसैँका बेला करिब १८ देखि २० लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेकामा यस वर्ष करिब १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।
सिटौलाले बाढीपहिरोका कारण ठूलो संख्यामा सवारीसाधनमा क्षति पुगेको, चालकसमेत बेपत्ता भएको तथा विभिन्न सडकखण्ड अझै जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण अवस्थामा यात्रा नगर्नसमेत यात्रुलाई सुझाव दिनुभयो।
यस वर्ष यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। टिकट काउन्टरमा कार्यरत कर्मचारीले परिचयपत्र र युनिफर्म लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको महासङ्घले जनाएको छ।
दसैँ–तिहारको समयमा टिकट काउन्टर तथा बसपार्कमा हुने भीड व्यवस्थापनका लागि सुरक्षाकर्मीको परिचालनसमेत बढाइने भएको छ। यात्रुको सहजताका लागि विभिन्न स्थानमा १४ वटा नागरिक सहायता कक्ष सञ्चालन गरिनेछ।
महासङ्घका अनुसार अग्रिम टिकट बिक्री, चालक व्यवस्थापन, यात्रुको विवरण अभिलेखीकरण, सुरक्षा व्यवस्था तथा सडकको अवस्थाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्रसमेत सञ्चालनमा ल्याइनेछ।
त्यसैगरी, यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। सडक अवरोध, दुर्घटना तथा अन्य आकस्मिक अवस्थाको तत्काल जानकारी आदानप्रदान गर्दै यस वर्षको दसैँ यात्रा सुरक्षित, व्यवस्थित र सहज बनाउने तयारी गरिएको विभाग र व्यवसायी महासङ्घले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij