नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा जारी वर्षाका कारण किसानलाई तत्काल धान नकाट्न आग्रह गरेको छ। लगातारको वर्षाले बाढी तथा पहिरोको जोखिम बढेकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो।
विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गर्दै मौसम खुलेपछि मात्र बाली भित्र्याउने योजना बनाउन सुझाव दिनुभएको छ। प्रतिकूल मौसमका बीच हतार गरेर धान काट्दा बालीसँगै जनधनमा समेत क्षति हुनसक्ने उहाँको भनाइ छ।
मौसमविद् लामिछानेका अनुसार पछिल्लो समय पूर्वी भूभागमा मौसम क्रमिक रूपमा सुधार हुँदै गएको भए पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पश्चिमी भूभागमा भने वर्षाको प्रभाव अझै कायम रहेकाले जोखिम बढी रहेको उहाँले बताउनुभयो।
उहाँले पछिल्ला तीन–चार दिनदेखि लगातार वर्षा भइरहेका पश्चिमी क्षेत्रमा आइतबारसम्म थप पानी पर्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
त्यस्तै, जमिन चिरा परेको, पहिरोको संकेत देखिएको वा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न विभागले आग्रह गरेको छ। यस्ता क्षेत्रमा रहेका नागरिकले आफू सुरक्षित रहनुका साथै छिमेकीलाई समेत सचेत गराउन अनुरोध गरिएको छ।
विभागले नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले गर्ने माइकिङ, साइरन तथा अन्य सूचनालाई बेवास्ता नगर्न पनि अनुरोध गरिएको छ।
विपद्का बेला सही सूचना समयमा प्राप्त गर्नु महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा लिन विभागले आग्रह गरेको छ।
मौसम तथा विपद्सम्बन्धी थप जानकारी वा जिज्ञासाका लागि जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij