Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

नेपालमा रासायनिक मल कारखाना खोल्ने तयारी, छिट्टै प्रस्ताव आह्वान गरिने

नेपालमा रासायनिक मल कारखाना खोल्ने तयारी, छिट्टै प्रस्ताव आह्वान गरिने

नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने प्रक्रिया सरकारले अघि बढाइरहेको बताएका छन्। उनले कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको जानकारी दिएका छन्।

सिंहदरबारमा बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. राम लामाका अनुसार प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि छिट्टै प्रस्ताव आह्वान गरिने बताएका थिए।

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ। त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुका साथै भन्सार प्रणालीमा समेत सुधार गर्ने प्रतिबद्धता सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रधानमन्त्री शाहले मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई पनि सरकारले प्राथमिकता दिने बताएका छन्। यस्ता आयोजनालाई आवश्यक सहुलियत उपलब्ध गराउने सरकारको तयारी रहेको उनले जानकारी दिएका थिए।

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। विगतका सरकारले बजेटमार्फत मल कारखाना स्थापनाका लागि रकम विनियोजन गरे पनि आयोजना अघि बढ्न सकेको थिएन।

बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो २ः१५ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको सुरुवातमा सांसदहरूले हालैका बाढी–पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदहरूको भूमिका र सरकारसँग गर्न सकिने समन्वयबारे धारणा राख्दै औद्योगिकीकरणलाई गति दिन आवश्यक ठोस योजना तथा सुझाव प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेका थिए।

नयाँ योजना वा नीतिसम्बन्धी कुनै प्रस्ताव भए सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने बताउँदै शाहले त्यस्ता प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न आफू तयार रहेको बताएका थिए।

विद्युत् उत्पादनसँगै त्यसको आन्तरिक खपत बढाउने विषयमा पनि सरकारको विशेष ध्यान रहेको प्रधानमन्त्री शाहले बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाह सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार