Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

पोखरा विमानस्थलमा २३ सेप्टेम्बरदेखि फ्लाई दुबईको उडान, व्यवसायीमा बढ्यो आशा

पोखरा विमानस्थलमा २३ सेप्टेम्बरदेखि फ्लाई दुबईको उडान, व्यवसायीमा बढ्यो आशा

नेपाल सम्वत् ११४६, यंलाथ्वः ११, एकादशी (६ असोज २०८३, २२ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । दिउँसोको समयमा आकर्षक देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य टर्मिनल भवन साँझ परेपछि भने फरक दृश्य देखिन्छ। आन्तरिक टर्मिनलतर्फको भाग झिलिमिली उज्यालो हुँदा अन्तर्राष्ट्रिय टर्मिनलतर्फको आधा भाग अँध्यारो देखिन्छ। अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको विमानस्थलको वर्तमान अवस्था झल्काउने यो दृश्य अब विस्तारै बदलिने अपेक्षा गरिएको छ।

लामो समयको संघर्ष, आन्दोलन र दबाबपछि निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको उपयोगितामाथि प्रश्न उठ्दै आएको थियो। तर, २३ सेप्टेम्बरदेखि यूएईको फ्लाई दुबईले पोखरा–दुबई नियमित उडान सुरु गर्ने तयारी गरेपछि पोखरेली व्यवसायी र पर्यटन क्षेत्र उत्साहित भएका छन्।

सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलबाट यसअघि केही चार्टर उडान भएका थिए। हिमालयन एयरलाइन्सले पोखरा–ल्हासा नियमित उडानको प्रयास गरे पनि यात्रुको अभावका कारण त्यसलाई निरन्तरता दिन सकेन।

फ्लाई दुबईबाट नयाँ आशा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि कम्तीमा ६ महिनाका लागि दैनिक उडानको टिकट बुकिङ खुला गरेको छ। फ्लाई दुबईले पोखरामा कार्यालय स्थापना गरेर उडानको प्रवर्द्धनसमेत गरिरहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले दुबईसँग पोखराको प्रत्यक्ष हवाई सम्पर्क सुरु हुनु अन्तर्राष्ट्रिय कनेक्टिभिटी विस्तारका लागि महत्वपूर्ण प्रयास भएको बताए। उनका अनुसार दुबई विश्वका विभिन्न गन्तव्यसँग जोडिएको अन्तर्राष्ट्रिय हवाई केन्द्र भएकाले पोखराका लागि यसले थप सम्भावना खोल्न सक्छ।

फ्लाई दुबई र इमिरेट्सको नेटवर्कमार्फत दुबई हुँदै विश्वका करिब २५० गन्तव्यसम्म पुग्न सकिने भएकाले पनि पोखरा–दुबई उडानलाई नियमित बनाउन सके लाभ लिन सकिने अपेक्षा गरिएको छ।

फ्लाई दुबईका नेपालस्थित जेनेरल म्यानेजर नवराज शाहीका अनुसार काठमाडौंको तुलनामा पोखराबाट कम्तीमा ५ हजार रुपैयाँ कम भाडा राखिएको छ। फ्लाई दुबईले जेठ २८ गतेदेखि टिकट बुकिङ खुला गरेको थियो।

सेप्टेम्बर २३ मा फ्लाई दुबईको विमान साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र त्यसको करिब एक घण्टापछि दुबई फर्किने तालिका छ। विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार उडानको दैनिक तालिका एउटै रहनेछ।

पहिलो उडानका यात्रुलाई पोखरामा भव्य स्वागत गर्ने तयारी गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताए। उनका अनुसार विमानलाई पानीको फोहोराले स्वागत गरिनेछ।

पर्यटन व्यवसायीका अनुसार सुरुवाती केही उडानका लागि टिकट बुकिङ उत्साहजनक रहेको छ। होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा टिकटिङ व्यवसायीले समेत अन्तर्राष्ट्रिय यात्रु र पर्यटक लक्षित प्याकेज तयार गर्ने तयारी थालेका छन्।

चार्टर उडान भए, नियमित हुन सकेन

पोखरा विमानस्थल सञ्चालनमा आएपछि सिचुआन एयरलाइन्स, हिमालयन एयरलाइन्स, भुटान एयरलाइन्स, ड्रुक एयरलगायतले चार्टर उडान गरेका थिए।

हिमालयन एयरलाइन्सले पोखरा–ल्हासा उडानका क्रममा ५२ पटक आगमन र ५२ पटक प्रस्थान गरी कुल १०४ वटा मुभमेन्ट गरेको थियो। तर, यात्रुको अभावका कारण उडान स्थगित भयो।

सिचुआन एयरलाइन्सले छेन्दु–पोखरा जोड्दै २६ वटा चार्टर उडान गरेको थियो। भुटान र ड्रुक एयरले पनि चार्टर उडान गरेका थिए। जाजरकोट भूकम्पका क्रममा चीनबाट राहत सामग्री बोकेको चिनियाँ सेनाको जहाजसमेत पोखरा विमानस्थलमा अवतरण गरेको थियो।

तर, उद्घाटनपछि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान भने हुन सकेन। विमानस्थल निर्माणमा चिनियाँ अनुदान तथा ऋणसमेत गरी ठूलो लगानी भएकाले यसको सञ्चालनबारे निरन्तर बहस हुँदै आएको छ।

उडानका लागि पूर्वाधार तयारी

फ्लाई दुबईको उडानलाई लक्षित गर्दै विमानस्थलमा आवश्यक तयारी पूरा गरिएको विमानस्थल प्रमुख निरौलाले बताए।

ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल वायुसेवा निगमले तयारी पूरा गरेको छ। उडानका लागि सोल्टी होटललाई फ्लाइट क्याटरिङ सेवा उपलब्ध गराउने अनुमति र प्रमाणपत्रसमेत दिइएको छ।

नागरिक उड्डयन प्राधिकरणका सेवा प्रदायक तथा स्थायी गरी करिब २०० कर्मचारी विमानस्थलमा कार्यरत छन्। सुरक्षाका लागि नेपाल प्रहरीका १०४ र नेपाली सेनाका ८० जना जनशक्ति तैनाथ छन्। भन्सार र अध्यागमनका लागि पनि आवश्यक जनशक्ति परिचालन गरिएको छ।

भैरहवाबाट पाठ सिक्नुपर्ने व्यवसायीको सुझाव

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु हुनु सकारात्मक भए पनि यसलाई दीर्घकालीन बनाउन चुनौती रहेको व्यवसायीहरूको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएका अन्तर्राष्ट्रिय उडान लामो समय टिक्न नसकेको अनुभवबाट पोखराले पाठ सिक्नुपर्ने बताए।

उनका अनुसार विमानस्थलको सेवा तथा सुविधा निरन्तर सुधार गर्नुका साथै पोखरालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ। दुबईमा समेत पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव छ।

पोखरा पर्यटन परिषदका अध्यक्ष भुजेलले फ्लाई दुबईलाई सफल बनाएर अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सलाई समेत पोखरा आकर्षित गर्ने लक्ष्य रहेको बताए।

पाँच दशक पुरानो सपना

पोखरेलीले अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको पाँच दशकभन्दा बढी भइसकेको छ। सन् १९७० को दशकतिरै छिनेडाँडामा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै पोखरेली उद्योगी, व्यवसायी, स्थानीय तथा नागरिक समाजले पटक–पटक आन्दोलन र दबाब दिएका थिए। २०६९ सालमा रिले अनशनसमेत गरिएको थियो।

सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच विमानस्थल निर्माणसम्बन्धी सम्झौता भएको थियो। सन् २०१६ मा नेपाल सरकार र चीनको एक्जिम बैंकबीच २१६ मिलियन अमेरिकी डलरको ऋण सम्झौता भएपछि निर्माण अघि बढेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए। कोभिड–१९ महामारीका कारण निर्माण प्रभावित भए पनि सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन गरिएको थियो।

पर्यटन व्यवसायी उत्साहित

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर पोखरामा ठूलो निजी लगानी भएको छ। पोखरामा करिब १ हजार २०० होटल रहेको र १५ हजारभन्दा बढीले रोजगारी पाएको उनको भनाइ छ।

उनले फ्लाई दुबईको उडानलाई नियमित र दिगो बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताए। उनका अनुसार उडान सफल भएमा अन्य एयरलाइन्सलाई पनि पोखरा ल्याउन सहज हुनेछ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष वसन्त गौतमले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण भएको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटकका लागि पोखराको पहुँच थप सहज हुनेछ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण आचार्यले दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्कले पोखराका साहसिक पर्यटन र पदयात्राका गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।

पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबईबाट नेपाली तथा भारतीय समुदायसँगै उच्च खर्च गर्ने पर्यटकलाई पोखरा आकर्षित गर्न सकिने बताए। पोखरामा साहसिक तथा खेल पर्यटनका पूर्वाधार बढ्दै गएकाले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै त्यसको बजार पनि विस्तार गर्न सकिने उनको भनाइ छ।

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विमानस्थल निर्माणका लागि पोखरेलीले लामो संघर्ष गरेको स्मरण गर्दै अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सरकार गम्भीर हुनुपर्ने बताइन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीकी अध्यक्ष संगीता पौडेलका अनुसार फ्लाई दुबईको उडानलाई लक्षित गर्दै नाट्टामा आबद्ध १६३ वटा कम्पनीका व्यवसायीलाई तालिमसमेत दिइएको छ। व्यवसायीहरूले पर्यटक लक्षित प्याकेज निर्माणमा समेत काम गरिरहेका छन्।

अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य चुनौती फ्लाई दुबईको उडान सुरु गर्नु मात्रै नभई त्यसलाई नियमित र दीर्घकालीन बनाउनु हो। त्यसका लागि यात्रु तथा पर्यटक आकर्षित गर्ने रणनीति, हवाई सेवा प्रवर्द्धन, प्रतिस्पर्धी भाडा र विमानस्थलका सेवासुविधाको निरन्तर सुधारमा ध्यान दिनुपर्ने व्यवसायीहरूको जोड छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार