Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी, मन्त्री श्रेष्ठद्वारा संस्कृति संरक्षणमा जोड

मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी, मन्त्री श्रेष्ठद्वारा संस्कृति संरक्षणमा जोड

नेपाल सम्वत् ११४६, यंलाथ्वः ९, नवमी (४ असोज २०८३, २० सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । चन्द्रागिरि नगरपालिका–मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा खेलाडी सम्मान समारोह आयोजना गरिएको छ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न स्थानबाट आएका लाखे नाच तथा सांस्कृतिक समूहले मौलिक कला, संस्कृति र परम्पराको प्रदर्शन गरेका थिए।

समारोहमा स्थानीयसहित विभिन्न क्षेत्रका कलाकार, संस्कृति संरक्षणकर्मी, खेलाडी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले नेपालको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताएका थिए।

मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता सांस्कृतिक कार्यक्रम महत्वपूर्ण हुनेमा वक्ताहरूले जोड दिएका थिए। पछिल्लो पुस्तालाई आफ्नो कला, संस्कृति र परम्परासँग जोड्दै यसको महत्वबारे जानकारी गराउन समुदायस्तरमा हुने कार्यक्रमले योगदान पुर्‍याउने उनीहरूको भनाइ थियो।

नेपालको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको लाखे नाचको संरक्षण र निरन्तरताका लागि समुदायको सक्रियता आवश्यक रहेको कार्यक्रममा बताइएको थियो। पुस्तौँदेखि चलिआएको लाखे परम्परालाई जीवन्त राख्न नयाँ पुस्ताको सहभागिता र चासो बढाउनुपर्नेमा पनि जोड दिइएको थियो।

कार्यक्रमका क्रममा विभिन्न खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका खेलाडीलाई सम्मान गरिएको थियो। कला, संस्कृति र खेलकुदलाई एउटै मञ्चमा जोडेर स्थानीय प्रतिभा तथा मौलिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी कलाकार, खेलाडी तथा सर्वसाधारणले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार