Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

भोटाहिटीबाट हनुमानढोका ल्याइयो इन्द्रजात्राको लिङ्गो

भोटाहिटीबाट हनुमानढोका ल्याइयो इन्द्रजात्राको लिङ्गो

नेपाल सम्वत् ११४६, यंलाथ्वः ८, अष्टमी (३ असोज २०८३, १९ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । इन्द्रजात्राका लागि ल्याइएको लिङ्गो (योँसी) शनिबार शुभ साइतमा विधिपूर्वक नगर प्रवेश गराइएको छ। इन्द्रजात्राको मुख्य प्रतीकका रूपमा रहेको लिङ्गोलाई बिहान ८ः०५ बजेको शुभ साइतमा भोटाहिटीबाट बाजागाजासहित हनुमानढोका दरबार परिसरमा पुर्‍याइएको हो।

लिङ्गो नगर प्रवेश गराउने क्रममा परम्परागत बाजागाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। लिङ्गो हेर्न तथा जात्राको सांस्कृतिक गतिविधिमा सहभागी हुन स्थानीयवासी, भक्तजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। परम्परागत विधि र सांस्कृतिक प्रस्तुतिसहित लिङ्गो नगर प्रवेश गराइएसँगै काठमाडौंमा इन्द्रजात्राको रौनक थपिएको छ।

इन्द्रजात्रामा लिङ्गोको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार परिसरमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि इन्द्रजात्राको मुख्य पर्व औपचारिक रूपमा सुरु हुने परम्परा छ। लिङ्गो ठड्याउने तथा ढाल्ने दुवै कार्यलाई जात्राको महत्वपूर्ण संस्कारका रूपमा लिइन्छ।

इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधनासँग सम्बन्धित महत्वपूर्ण पर्व हो। काठमाडौं उपत्यकाका साथै ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका क्षेत्रमा पनि विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित इन्द्रजात्रा मनाउने परम्परा छ।

काठमाडौंको इन्द्रजात्रा भने विशेष रूपमा हनुमानढोका दरबार क्षेत्रलाई केन्द्र बनाएर मनाइन्छ। १२औँदेखि १८औँ शताब्दीसम्म निर्माण भएका विभिन्न मठ, मन्दिर तथा ऐतिहासिक सम्पदाले सजिएको हनुमानढोका क्षेत्रलाई जात्राको प्रमुख केन्द्र मानिन्छ। यस अवधिमा काठमाडौंका विभिन्न स्थानमा धार्मिक अनुष्ठान, देवदेवीको पूजा, पितृ स्मरण, रथयात्रा तथा विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्।

भाद्र शुक्लपक्षको यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु हुने इन्द्रजात्रा यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसँगै सम्पन्न हुने परम्परा छ। करिब आठ दिनसम्म चल्ने जात्रामा कुमारी, गणेश र भैरवको रथयात्रा, लाखे नाच, पुलुकिसी, विभिन्न देवदेवीका नाच तथा अन्य सांस्कृतिक गतिविधिले काठमाडौंको पुरानो बस्तीलाई उत्सवमय बनाउँछन्।

इन्द्रजात्राको अर्को महत्वपूर्ण पक्ष पितृ स्मरण पनि हो। जात्राका विभिन्न दिनमा दिवंगत आफन्तको सम्झनामा धार्मिक विधि तथा सांस्कृतिक गतिविधि गर्ने परम्परा रहिआएको छ। यसले जात्रालाई केवल धार्मिक उत्सवका रूपमा मात्र नभई पारिवारिक स्मृति, सामुदायिक सहभागिता र सांस्कृतिक निरन्तरतासँग पनि जोडेको छ।

संस्कृतिविद्हरूले इन्द्रजात्रालाई काठमाडौं उपत्यकाको प्राचीन सांस्कृतिक परम्परामध्ये एकका रूपमा लिँदै आएका छन्। सनातन धर्मावलम्बीका प्रमुख चाड दशैँ, तिहार र फागुपूर्णिमाजस्ता पर्वभन्दा पनि इन्द्रजात्राको परम्परा पुरानो रहेको मानिन्छ।

इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराउनेदेखि हनुमानढोका परिसरमा ठड्याउने, विभिन्न देवीदेवताका रथयात्रा गर्ने र अन्तिम दिन इन्द्रध्वज ढाल्नेसम्मका गतिविधिले काठमाडौंको मौलिक नेवार संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परालाई जीवन्त राख्दै आएका छन्। जात्रामा स्थानीय समुदायसँगै देशका विभिन्न स्थानबाट आउने भक्तजन तथा पर्यटकको समेत सहभागिता रहने गर्दछ।

लिङ्गो नगर प्रवेश भएसँगै अब हनुमानढोका केन्द्रित इन्द्रजात्राका प्रमुख धार्मिक तथा सांस्कृतिक गतिविधि क्रमशः अघि बढ्नेछन्। यसले काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको इन्द्रजात्रालाई थप उत्सवमय बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार