नेपाल सम्वत् ११४६, यंलाथ्वः ५, पञ्चमी (३१ भाद्र २०८३, १६ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा (येँया पुन्ही) को तयारीसँगै हनुमानढोकामा उठाइने ३६ हात लामो लिङ्गोको बन्दोबस्त सुरु भएको छ। इन्द्रजात्रामा हरेक वर्ष लिङ्गो तान्ने, उठाउने र ढाल्ने परम्परा रहँदै आएको छ।
हनुमानढोकामा गाडिने लिङ्गो भक्तपुरबाट ल्याउने गरिन्छ। यसको व्यवस्थापनको जिम्मेवारी केन्द्रीय मानन्धर सङ्घले लिँदै आएको छ। सङ्घले हरेक वर्ष भक्तपुरको चित्तपोलबाट रुख छनोट गरी काटेर काठमाडौं ल्याउने गरेको छ।
मानन्धर गुठीका बद्रीनारायण मानन्धरका अनुसार यस वर्ष भदौ २८ गते आइतबार बिहान ९ः५३ बजे वनयात्रा गरिएको थियो। सोही राति ८ः४७ बजे साइतअनुसार वृक्षकर्तन गरी रुखमा बन्चरोको पहिलो चोट लगाइएको थियो। त्यसपछि भोलिपल्ट बिहानैदेखि रुख काट्ने काम सुरु गरिएको थियो।
येँया पुन्हीका लागि आवश्यक सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले तय गर्ने गरेको मानन्धरले बताए। उनका अनुसार पहिलो दिन नालाबाट रुख तानेर थिमिको राधेराधेसम्म ल्याउने र चौथीका दिन त्यहाँबाट काठमाडौंको भोटाहिटीसम्म ल्याउने परम्परा छ। यस वर्ष वर्षाका कारण रुख भक्तपुरको सल्लाघारीमा राखिएको थियो।
भोटाहिटीमा सडकछेउमा रहेको एउटा मण्डल इन्द्रजात्राका बेला विशेष महत्वको मानिन्छ। वर्षभरि सवारीसाधन गुड्ने भएकाले ढाकेर राखिने उक्त मण्डल येँया पुन्ही सुरु भएपछि खोलिन्छ। त्यसपछि साइतअनुसार लिङ्गोलाई नगर प्रवेश गराइन्छ।
यस वर्ष असोज ३ गते शनिबार बिहान ८ः०५ बजे लिङ्गोलाई नगर प्रवेश गराई हनुमानढोकामा राखिने साइत तय गरिएको छ। नगर प्रवेशपछि एकादशीका दिन लिङ्गोमा डोरी बाँध्ने काम सुरु हुन्छ। सनाःगू खलःका ‘चस्वाद्वँ’ मानन्धरहरूले डोरी बाँध्ने परम्परा छ।
मानन्धर समुदाय परम्परादेखि नै प्राविधिक काममा संलग्न रहँदै आएकाले रुख काट्ने तथा लिङ्गोमा डोरी बाँध्ने जिम्मेवारी उनीहरूलाई दिइएको बताइएको छ।
त्यसपछि असोज ७ गते बुधबार बिहान ७ः४७ बजे द्वादशीका दिन हनुमानढोका दरबारअगाडि लिङ्गो उठाइनेछ। लिङ्गो उठाएसँगै औपचारिक रूपमा येँया पुन्ही अर्थात् इन्द्रजात्रा सुरु हुने मान्यता छ।
केन्द्रीय मानन्धर सङ्घका गजेन्द्र मानन्धरका अनुसार मल्ल राजा जयप्रकाश मल्लको पालादेखि लिङ्गो राख्ने प्रचलन सुरु भएको मानिन्छ। यसको लिखित वा आधिकारिक अभिलेख भने आफूहरूसँग नरहेको उनले बताए।
इन्द्रजात्राको मुख्य आकर्षण कुमारीको रथयात्रा हो। काठमाडौंका माथिल्लो, तल्लो तथा बीचका विभिन्न टोलमा कुमारीको रथयात्रा गरिन्छ। साताव्यापी रूपमा मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो।
जात्राका क्रममा भक्तपुरको महाकाली नाच, ख्याउरा, माकप्याँख, किलागलको पुलुकिसी, हल्चोकको भैरव, मजिपाटको लाखे, १० अवतार, स्वच्छन्द भैरव, आकाश भैरव र श्वेतकालीलगायत विभिन्न परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज ३ गते भोटाहिटीबाट हनुमानढोका लिङ्गो प्रवेश गराइनेछ। असोज १० गते माथिल्लो तथा मूल जात्रा, असोज ११ गते तल्लो टोलको जात्रा र असोज १३ गते मंगलबार नानिचा रथयात्रा तथा बीचको टोलको रथयात्रा गरिनेछ। सोही दिन राति ९ः२५ बजे इन्द्रध्वज पतन गरेसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij