Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

नेपालगन्ज–अयोध्या–गोरखपुर–बनारस रेल सेवा सुरु, धार्मिक पर्यटन र व्यापारमा नयाँ सम्भावना

नेपालगन्ज–अयोध्या–गोरखपुर–बनारस रेल सेवा सुरु, धार्मिक पर्यटन र व्यापारमा नयाँ सम्भावना

नेपाल सम्वत् ११४६, गुंल्लागाः ४, चौठी (१६ भाद्र २०८३, १ सेप्टेम्वर २०२६) मंगलबार, बाँपिझ्याला । बाँकेस्थित नेपाल–भारत सीमावर्ती नेपालगन्ज रोडबाट भारतका प्रमुख धार्मिक तथा सांस्कृतिक सहर अयोध्या, गोरखपुर र बनारस (वाराणसी) जोड्ने ब्रोडगेज रेल सेवा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको यो रेल सेवाको उद्घाटन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा गर्नुभएको हो।

नयाँ रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटकको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, यसले दुई देशबीचको व्यापारिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। नेपालगन्ज रोडबाट सिधा भारतका महत्वपूर्ण धार्मिक केन्द्रहरूमा पुग्न सकिने भएपछि पश्चिम नेपालका नागरिकलाई विशेष सुविधा हुने बताइएको छ।

पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठका अनुसार, यो रेल सेवा सञ्चालनमा आएपछि नेपालबाट अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखनाथ मन्दिर तथा बनारसको काशी विश्वनाथ मन्दिर दर्शनका लागि जाने नेपाली तीर्थयात्रीलाई सहज हुनेछ। त्यस्तै भारतबाट नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी तथा कैलाश मानसरोवर यात्राको मार्ग प्रयोग गर्ने भारतीय धार्मिक पर्यटकलाई पनि लाभ पुग्नेछ।

उहाँले यो रेल सेवाले पश्चिम नेपालको धार्मिक पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताउँदै ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक नेपाल भित्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो। “अब पश्चिम नेपालका नेपालीका लागि अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर पुग्न निकै सहज भएको छ। त्यस्तै उताका धार्मिक पर्यटकलाई पनि नेपालका प्रमुख धार्मिकस्थलमा आउन सहज हुनेछ,” उहाँले भन्नुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रेल सेवा सञ्चालनलाई नेपालगन्जका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार, यसले धार्मिक पर्यटनको विकास मात्र होइन, स्थानीय व्यापार, होटल व्यवसाय, यातायात र सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ। रेलमार्फत पर्यटकको आगमन बढेपछि नेपालगन्ज क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

विशेषगरी नेपाल–भारत धार्मिक सर्किटलाई जोड्ने यो रेल सेवा सञ्चालनसँगै पश्चिम नेपालको पर्यटन उद्योगले नयाँ गति लिने विश्वास गरिएको छ। साथै, सीमा क्षेत्रका व्यापारिक गतिविधि विस्तार भई नेपालगन्जलाई धार्मिक तथा आर्थिक केन्द्रका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार