Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

राप्रपाले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन ह्विप जारी

राप्रपाले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन ह्विप जारी

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ११ एकादशी (७ भाद्र २०८३, २३ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी भदौ ८ गते प्रदेशसभामा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।

राप्रपाकी बागमती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले आइतबार दिउँसो ह्विप जारी गर्दै पार्टीका सबै प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएकी हुन्। पार्टीले विश्वासको मतमा तटस्थ नबस्न तथा अनुपस्थितसमेत नहुन सांसदहरूलाई निर्देशन दिएको छ।

बागमती प्रदेशमा राप्रपा र पार्टीको केन्द्रीय नेतृत्वबीच पछिल्लो समय सरकारमा सहभागिताको विषयलाई लिएर विवाद चर्किएको छ। केन्द्रको निर्णयविपरीत राप्रपाको बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारमा सहभागी हुने निर्णय गरेपछि विवाद थप गहिरिएको हो।

थापाको नेतृत्वमा राप्रपाका तीन प्रदेशसभा सदस्य सरकारमा सहभागी भएका छन्। स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट तथा उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति सरकारमा सहभागी भएका हुन्।

केन्द्रीय नेतृत्वको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै राप्रपाको केन्द्रीय अनुशासन समितिले तीनै जना प्रदेशसभा सदस्यसँग स्पष्टीकरणसमेत मागिसकेको छ।

एमाले नेतृत्वमा बागमती प्रदेशमा सरकार गठन हुँदा राप्रपाका प्रदेशसभा सदस्यहरूले केन्द्रको सहमतिबिना सरकारलाई समर्थन गरेका थिए। त्यसयता प्रदेश र केन्द्रबीचको मतभेद सार्वजनिक रूपमा देखिँदै आएको छ।

अब मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिनुअघि राप्रपाले जारी गरेको ह्विपले प्रदेशसभामा राजनीतिक समीकरण थप रोचक बनेको छ। राप्रपाका सांसदहरूले पार्टीको ह्विप पालना गरे मुख्यमन्त्रीको विश्वासको मतमा उनीहरूको समर्थन नहुने स्पष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार