नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १० दशमी (६ भाद्र २०८३, २२ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले परीक्षण उत्पादन सुरु गरेको हेटौँडा कपडा उद्योगको स्थलगत अनुगमन गरेकी छन्। शनिबार हेटौँडा पुगेकी मन्त्री यादवले उद्योगको परीक्षण उत्पादन, सञ्चालनमा रहेका मेसिनको अवस्था तथा मर्मतसम्भारको प्रगतिबारे जानकारी लिएकी हुन्।
मन्त्री यादवको उपस्थितिमा नेपाली सेनाको नेतृत्वमा परीक्षण थालिएका तीनवटा मेसिनसहित अन्य चारवटा मेसिन सञ्चालन गरिएको थियो। अनुगमनका क्रममा उनले उद्योग परिसरमै मर्मतसम्भारमा खटिएको प्राविधिक टोली, नेपाली सेना तथा सम्बन्धित सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेकी थिइन्।
करिब साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगमा लामो समयपछि पुनः उत्पादन प्रक्रिया अघि बढेको हो। प्रारम्भिक परीक्षण उत्पादन सफल भएपछि अहिले तीनवटा अटोमेटिकसहित १४ वटा मेसिन उत्पादनका लागि सञ्चालनमा ल्याउने चरणमा रहेका छन्।
सरकारले उद्योगको मर्मत, पुनःस्थापना तथा सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि पुनर्जीवनको कामले गति लिएको हो। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयअन्तर्गत करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्।
लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका मेसिन, उपकरण तथा उत्पादन लाइनको मर्मतसम्भारपछि परीक्षण उत्पादन सफल हुनु उद्योग पुनः सञ्चालनको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अनुगमनका क्रममा मन्त्री यादवले उद्योग सञ्चालनका क्रममा देखिएका प्राविधिक तथा व्यवस्थापकीय विषयबारे समेत जानकारी लिएकी थिइन्। उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न बाँकी रहेका उपकरण तथा मेसिनको मर्मतसम्भारलाई तीव्रता दिने तयारी गरिएको छ।
बाँकी उपकरणको मर्मत सम्पन्न भएपछि उद्योगको उत्पादन क्षमता थप विस्तार गर्ने सरकारको तयारी छ। लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको उद्योग पुनः सञ्चालनमा आएपछि स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा कपडा उत्पादनमा आत्मनिर्भरता बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनलाई सरकारले बन्द अवस्थामा रहेका सार्वजनिक उद्योगलाई क्रमशः पुनर्जीवन दिने प्रयासका रूपमा समेत अघि बढाएको छ। परीक्षण उत्पादनको नतिजा र बाँकी मेसिनको मर्मतसम्भारको प्रगतिका आधारमा उद्योगलाई नियमित उत्पादनमा लैजाने योजना बनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij