Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

चालू आर्थिक वर्षको ३४ दिनमै सरकारको राजस्व संकलन एक खर्ब नाघ्यो

चालू आर्थिक वर्षको ३४ दिनमै सरकारको राजस्व संकलन एक खर्ब नाघ्यो

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १० दशमी (६ भाद्र २०८३, २२ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती ३४ दिनमै सरकारले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ ३ गतेसम्म सरकारको कुल राजस्व संकलन एक खर्ब दुई अर्ब ३० करोड ९१ लाख रुपैयाँ पुगेको हो।

भदौ ४ गतेसम्म आइपुग्दा राजस्व संकलन अझ बढेर एक खर्ब पाँच अर्ब ५० करोड ३१ लाख रुपैयाँ पुगेको छ। प्रारम्भिक महिनामै राजस्व संकलनमा देखिएको यो वृद्धिलाई सरकारले सकारात्मक रूपमा लिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार संकलित राजस्वमा कर राजस्वको हिस्सा सबैभन्दा ठूलो छ। चालू आर्थिक वर्षको सुरुवाती अवधिमा कर राजस्व करिब ९६ अर्ब ६५ करोड २५ लाख रुपैयाँ संकलन भएको छ। त्यस्तै गैरकर राजस्वतर्फ ७५ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, अनुदानतर्फ २५ करोड १० लाख रुपैयाँ तथा अन्य आम्दानीतर्फ एक अर्ब पाँच करोड ५० लाख ३१ हजार रुपैयाँ संकलन भएको विवरणमा उल्लेख छ।

गत आर्थिक वर्षको भदौ ४ गतेसम्म सरकारले ९१ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन १५.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

सामान्यतया आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन तुलनात्मक रूपमा कम हुने गर्छ। आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान हुन समय लाग्ने भएकाले सुरुवाती महिनामा राजस्व संकलनको गति कमजोर हुने गरेको भए पनि यसपटक सुरुवाती अवधिमै राजस्वमा उल्लेख्य वृद्धि देखिएको हो।

सरकारले चालू आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। प्रारम्भिक अवधिमा देखिएको राजस्व वृद्धिले वार्षिक लक्ष्य हासिल गर्न केही सकारात्मक संकेत दिएको भए पनि बाँकी अवधिमा राजस्व संकलनको गति कायम राख्नु सरकारका लागि मुख्य चुनौती हुनेछ।

सरकारले राजस्वको दायरा विस्तार, कर प्रशासनमा सुधार तथा आर्थिक गतिविधि बढाएर निर्धारित लक्ष्य हासिल गर्ने योजना अघि सारेको छ। सुरुवाती महिनाको राजस्व वृद्धिलाई निरन्तरता दिन सके सरकारले वार्षिक राजस्व लक्ष्यतर्फ अपेक्षित प्रगति हासिल गर्न सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार