नेपाल सम्वत् ११४६, दिल्लागाः १५ औसी (२७ साउन, २०८३, १२ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । लगातारको खराब प्रदर्शनसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता संकटमा परेको छ। अबका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसके नेपालले आठ वर्षअघि प्राप्त गरेको ओडीआई मान्यता गुमाउने जोखिम बढेको छ।
यही संकटपूर्ण अवस्थामा नेपाली क्रिकेट सम्हाल्ने जिम्मेवारी सन्दीप लामिछानेको काँधमा आएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआई टोलीको कप्तान नियुक्त गरेको हो। उनले अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन्।
सन्दीप चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन्। यसअघि २०७८ सालमा उनले राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए। तर बलात्कार मुद्दाका कारण एक वर्ष नपुग्दै उनको कप्तानी खोसिएको थियो।
आईसीसी विश्वकप लिग–२ को जारी साइकलको अन्तिम सिरिज पनि नेपालले सन्दीपकै कप्तानीमा खेल्नेछ। लगातार पराजित भएपछि आठ टोली सहभागी लिग–२ मा नेपाल सातौँ स्थानमा छ। नेपालले ३२ खेलमध्ये ११ खेलमा मात्र जित निकालेको छ। पछिल्लो समय नेदरल्यान्ड्समा भएको सिरिजका चारै खेलमा नेपाल पराजित भएको थियो।
अब नेपालसँग लिग–२ मा चार खेल मात्र बाँकी छन्। शीर्ष चारमा रहेर सिधै विश्वकप छनोट खेल्ने सम्भावना निकै कमजोर भइसकेको अवस्थामा नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु हुनेछ। त्यसका लागि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती नयाँ कप्तान सन्दीपसामु छ।
सन्दीपले २१ वर्षकै उमेरमा पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। २९ मंसिर २०७८ मा क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई जिम्मेवारी दिएको थियो।
उनको कप्तानीमा नेपालले १४ ओडीआई खेल्दा चारमा जित, नौमा हार र एक खेलमा बराबरी गरेको थियो। २१ भदौ २०७९ मा एक युवतीले बलात्कारको उजुरी दिएपछि क्यानले उनलाई कप्तानसँगै राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो। त्यसपछि कानुनी प्रक्रियाका विभिन्न चरण पार गर्दै उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनी पुनः क्रिकेटमा फर्किएका हुन्।
चार वर्षपछि फेरि कप्तानको जिम्मेवारी पाएका सन्दीपका लागि यो आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसरसमेत हो।
सन्दीपसँग विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिग खेलेको लामो अनुभव छ। उनी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो र हालसम्म एक मात्र नेपाली क्रिकेटर हुन्। सन् २०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका उनले त्यसपछि बीबीएल, सीपीएल, बीपीएल, पीएसएल, ग्लोबल टी–२० क्यानडा र अफगानिस्तान प्रिमियर लिगलगायत प्रतियोगितामा सहभागिता जनाएका छन्।
सन्दीप नेपालबाट ओडीआई र टी–२० आई दुवैमा १०० विकेट पूरा गर्ने पहिलो बलर हुन्। उनले ओडीआईमा ४२ खेलमै १०० विकेट तथा ७३ खेलमा १५० विकेट पूरा गर्दै विश्व कीर्तिमान बनाएका छन्। उनी सर्वाधिक ओडीआई खेलमा चार विकेट लिने खेलाडीको विश्व कीर्तिमानमा पनि संयुक्त रूपमा छन्।
नेपालको बलिङ आक्रमणका महत्वपूर्ण सदस्य सन्दीपले हालसम्म ७७ खेलमा १५४ विकेट लिएका छन्। यद्यपि पछिल्ला खेलमा उनको प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेको छैन। नेदरल्यान्ड्समा भएको पछिल्लो सिरिजका सुरुवाती तीन खेलमा उनी विकेटविहीन रहे भने चौथो खेलमा बेन्चमा बसे।
पछिल्ला १० ओडीआईमा सन्दीपले १७ विकेट लिएका छन् भने घरेलु मैदानमा पछिल्ला आठ खेलमा १५ विकेट हात पारेका छन्।
स्याङ्जामा जन्मिएका सन्दीपका बुबा भारतीय रेल्वेमा कार्यरत भएकाले उनले कक्षा चारसम्म भारतमै अध्ययन गरे। त्यहीँबाट क्रिकेट सिकेका उनी पछि चितवन आए। विद्यालयबाट विभिन्न प्रतियोगिता खेल्दै क्रिकेट करिअर अघि बढाएका सन्दीपले चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले। त्यहाँ नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का उनका प्रशिक्षक थिए।
स्पिन बलिङमा विशेष दखल राख्ने सन्दीप अस्ट्रेलियाका महान् लेग स्पिनर शेन वार्नबाट प्रभावित थिए। टेलिभिजनमा वार्नको बलिङ हेर्दै उनले त्यसको अभ्यास गर्थे।
एकेडेमीमा प्रशिक्षणकै क्रममा तत्कालीन नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परेपछि सन्दीप यू–१९ क्याम्पमा पुगे। सन् २०१५ मा मलेसियामा भएको यू–१९ ग्लोबल क्वालिफायरको अन्तिम टोलीमा स्थान बनाउन नसके पनि केही समयपछि बंगलादेशमा भएको यू–१९ विश्वकपमा उनी नेपाली टोलीमा परे।
त्यस विश्वकपमा आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएपछि सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाए।
३१ मे २०१८ मा आईसीसी वर्ल्ड–११ बाट वेस्ट इन्डिजविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले त्यसको दुई महिनापछि नेदरल्यान्ड्सविरुद्ध ओडीआई क्रिकेटमा डेब्यु गरे। त्यसपछि उनले नेपाली क्रिकेटमा निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij