Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

कांग्रेस इतर समूहमा नयाँ शक्ति समीकरण : शशांकलाई जिम्मेवारी, खड्का किनारामा

कांग्रेस इतर समूहमा नयाँ शक्ति समीकरण : शशांकलाई जिम्मेवारी, खड्का किनारामा

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेसको इतर समूहभित्र पछिल्लो शक्ति समीकरण र १५औँ महाधिवेशनको जोडघटाउले नयाँ मोड लिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षीय नेताहरूको सहभागितामा काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयसँगै समूहभित्र नयाँ राजनीतिक हलचल देखिएको हो।

साउन २९ देखि ३१ गतेसम्म चलेको इतर समूहको राष्ट्रिय भेलाले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिएको छ। यो निर्णयसँगै निवर्तमान उपसभापति पूर्णबहादुर खड्का भने समूहको पछिल्लो शक्ति संरचनामा केही किनारामा परेको विश्लेषण हुन थालेको छ।

राष्ट्रिय भेलाले सार्वजनिक गरेको पाँचबुँदे निर्णयको पहिलो बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ। साथै, शेरबहादुर देउवाको सभापतित्वमा नै १५औँ महाधिवेशन सम्पन्न हुने र उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भएर महाधिवेशनमा जाने विश्वास व्यक्त गरिएको छ।

निर्णयमा १५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्ने उल्लेख गरिएको छ। राष्ट्रिय भेला आयोजना गर्न यसअघि नै डा. शशांक कोइरालालाई संयोजक तोकिएको थियो।

खड्कालाई बाइपास गरेको बुझाइ

भेलाको पहिलो नम्बरमै रहेको निर्णयलाई खड्का निकट नेताहरूले व्यवहारतः देउवापछिको जिम्मेवारी डा. शशांक कोइरालालाई सुम्पिएको रूपमा बुझेका छन्।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा कांग्रेसलाई कानुनी र सांगठनिक रूपमा जोगाउन पूर्णबहादुर खड्काले महत्वपूर्ण भूमिका खेलेको उनी निकट नेताहरूको दाबी छ। विशेष महाधिवेशनको दबाब, निर्वाचन आयोग र सर्वोच्च अदालतमा परेको रिटलगायतका विषयमा कार्यवाहक सभापतिको हैसियतमा खड्काले समूहका तर्फबाट कानुनी तथा सांगठनिक नेतृत्व गरेका थिए।

तर निर्णायक समयमा आफूलाई पन्छाएर डा. शशांकलाई जिम्मेवारी दिइएपछि खड्का असन्तुष्ट बनेको उनी निकट एक निवर्तमान केन्द्रीय सदस्यले बताएका छन्। यही असन्तुष्टिको संकेतका रूपमा खड्का आइतबार राष्ट्रिय भेलाको समापन समारोहमा समेत उपस्थित नभएको ती नेताको दाबी छ।

खड्का निकट नेताका अनुसार अप्ठ्यारो अवस्थामा विशेष महाधिवेशनको विवाद समाधान गर्न तथा कानुनी लडाइँको नेतृत्व गर्न खड्कालाई अगाडि सारिएको थियो। तर अहिले उनको योगदानलाई बेवास्ता गर्दै शशांकलाई संयोजनको जिम्मेवारी दिइएको भन्दै उनी असन्तुष्ट रहेको बताइएको छ।

देउवाको उत्तराधिकारीको बहस फेरि सतहमा

राष्ट्रिय भेलाको निर्णयसँगै कांग्रेसभित्र शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारी को बन्ने? भन्ने बहस फेरि सतहमा आएको छ।

कांग्रेस इतर समूहबाट १५औँ महाधिवेशनमा डा. शेखर कोइराला सभापतिका प्रमुख दाबेदारमध्ये एक हुन्। अर्कोतर्फ, डा. शशांक कोइरालालाई महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिइनुले उनको भूमिकालाई समेत थप महत्वपूर्ण बनाएको छ।

यद्यपि डा. शशांकले १५औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको बताउँदै आएका छन्। उनले आफ्ना दाइ डा. शेखर कोइराला सभापतिमा उम्मेदवार बनेमा आफूले सहयोग गर्ने सार्वजनिक रूपमा बताइसकेका छन्।

यसले शशांकको पछिल्लो जिम्मेवारीलाई केवल संगठन सञ्चालनको विषयका रूपमा मात्रै नभई आगामी महाधिवेशनको शक्ति समीकरणसँग जोडेर हेर्न थालिएको छ।

देउवा पक्षमा पनि असन्तुष्टिको सम्भावना

यता, कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका खड्कालाई बाइपास गरेर शशांकलाई ‘संयोजक’ को भूमिका दिइएको विषयले देउवा समूहभित्र समेत असन्तुष्टि बढ्न सक्ने कांग्रेस नेताहरूको आकलन छ।

१५औँ महाधिवेशनको तयारी, नेतृत्व चयन र पार्टीको आगामी शक्ति सन्तुलनका विषयमा कांग्रेसभित्र आन्तरिक रस्साकस्सी बढिरहेका बेला इतर समूहको राष्ट्रिय भेलाको निर्णयले नयाँ समीकरणको संकेत गरेको छ। अब शशांकको संयोजनकारी भूमिका, शेखरको सभापति दाबी र खड्काको आगामी रणनीतिले कांग्रेसको महाधिवेशनपूर्व शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार