Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

दोलखामा भाद्र १४ देखि भैरव–कुमारी जात्रा, मन्दिर–घरमा रंगरोगन तीव्र

दोलखामा भाद्र १४ देखि भैरव–कुमारी जात्रा, मन्दिर–घरमा रंगरोगन तीव्र

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः २ द्वितिया (२९ साउन, २०८३, १४ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । प्राचीन शहर दोलखाको सभ्यता, संस्कृति, धार्मिक आस्था र मौलिक परम्परासँग प्रत्यक्ष रूपमा जोडिएको भैरव–कुमारी जात्रा यस वर्ष भाद्र १४ गते आइतबारदेखि सुरु हुने भएको छ।

गाईजात्राको भोलिपल्टदेखि लगातार पाँच दिनसम्म रातिको समयमा भैरव र कुमारीलाई नचाउँदै दोलखा शहर परिक्रमा गराई मनाइने यो जात्रा दोलखाको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ।

शताब्दीऔँदेखि निरन्तर चलिआएको भैरव–कुमारी जात्राको आफ्नै मौलिक विधि, परम्परा र धार्मिक मान्यता रहेको छ। विशेषगरी रातिको समयमा नचाईने भएकाले यसको शैली र आकर्षण अन्य जात्राभन्दा फरक मानिन्छ। जात्राका क्रममा परम्परागत बाजागाजा, धार्मिक विधि तथा सांस्कृतिक संस्कारलाई निरन्तरता दिँदै भैरव र कुमारीलाई दोलखा शहरका विभिन्न भागमा परिक्रमा गराउने गरिन्छ।

भैरव–कुमारी जात्रा दोलखाको धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरोसँग जोडिएको पर्व हो। यस जात्राले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्थानीय संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नयाँ पुस्तालाई समेत आफ्नो मौलिक संस्कृति र पुर्खौँदेखि चलिआएको परम्परासँग जोड्ने माध्यमका रूपमा जात्राको विशेष महत्व रहेको स्थानीयको भनाइ छ।

जात्रा सञ्चालनमा विशेषगरी शिवभक्ती परिवार र बज्राचार्य परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ। परम्पराअनुसार सम्बन्धित परिवारका सदस्यहरूको सहभागितामा भैरव–कुमारीलाई नचाउने तथा जात्राका विभिन्न धार्मिक एवं सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरिन्छ। परिवार र समुदायको सहभागितामा निरन्तरता पाउँदै आएको यो परम्पराले दोलखाको प्राचीन धार्मिक संस्कृतिको संरक्षणमा समेत योगदान पु¥याएको छ।

यस वर्षको जात्रा नजिकिएसँगै तयारीलाई पनि तीव्रता दिइएको छ। जात्रा सञ्चालन हुने महत्वपूर्ण स्थल टसिचास्थित भैरवकुमारी घरमा रंगरोगनको काम सुरु गरिएको छ। जात्राअघि स्थलको संरक्षण, सरसफाइ तथा सौन्दर्यीकरण गर्ने उद्देश्यले रंगरोगनको काम अघि बढाइएको हो।

भैरवकुमारी घरमा रंगरोगनको कामका लागि दोलखाका युवा समाजसेवी तथा काठमाडौं भ्याली सर्भिसिङका प्रबन्ध सञ्चालक मनोज चाकुबजीले आर्थिक सहयोग गरेका छन्। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले चाकुबजीले उक्त सहयोग उपलब्ध गराएको बताइएको छ।

भैरवकुमारी घरको रंगरोगन तथा आवश्यक तयारीले जात्रा सञ्चालन हुने स्थललाई थप व्यवस्थित र आकर्षक बनाउनुका साथै प्राचीन सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदाय, युवा तथा समाजसेवीहरूको सक्रिय सहभागिता आवश्यक रहेको स्थानीयको धारणा छ।

पाँच दिनसम्म रातिको समयमा सञ्चालन हुने भैरव–कुमारी जात्रामा दोलखाका स्थानीयसँगै विभिन्न स्थानबाट आउने श्रद्धालु तथा संस्कृतिप्रेमीहरूको समेत सहभागिता बाग्लो हुने गरेको पाईन्छ । जात्रा सुरु हुनुअघि नै भैरवकुमारी घरमा रंगरोगन तथा अन्य तयारी सुरु भएपछि दोलखामा जात्राको चहलपहल बढ्न थालेको छ। यसैगरी यस भैरवकुमारी जात्रा टसिचा स्थित भैरवकुमारी घरबाट तिनबर्ष र पिङ्गल टोल स्थित भैरवकुमारी घरबाट तिन बर्ष गरी पालैपालो जात्रा निकाल्ने परम्परा रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार