Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १ प्रतिपदा (२८ साउन, २०८३, १३ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।

राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय तोकिएको छ। दाबी पेस गर्दा संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने आधारसहित सम्बन्धित दलहरूको समर्थनसमेत प्रस्तुत गर्नुपर्नेछ।

मुख्यमन्त्री शाहको राजीनामासँगै अब प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको तयारी सुरु भएको छ। सत्ता समीकरणमा रहेका दलहरूले बहुमत जुटाएर नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी थालेका छन्।

निर्धारित समयभित्र बहुमतको आधारसहित दाबी पेस भएपछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्। नयाँ मुख्यमन्त्री नियुक्तिसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया पनि अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार