Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कोशी सरकारबाट कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीको राजीनामा

कोशी सरकारबाट कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीको राजीनामा

नेपाल सम्वत् ११४६, दिल्लागाः १५ औसी (२७ साउन, २०८३, १२ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता गठबन्धन बनेपछि कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ छन्।

कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा नेतृत्व गरेका मन्त्री सुनुवारले नयाँ राजनीतिक गठबन्धन बनेपछि प्रदेश सभालाई विपक्षीविहीन बनाउन नहुने मान्यताका आधारमा राजीनामा दिएको बताए। संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको सरकार भएकाले प्रदेशलाई थप अस्थिर बनाउन नहुने कांग्रेसको धारणा रहेको उनको भनाइ छ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार २०८१ भदौ २८ गते कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको थियो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गठबन्धनमा सहभागी दलका मन्त्रीलाई कार्यकालको आधा–आधा अवधि जिम्मेवारी दिने सहमतिअनुसार २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दा हाल राजीनामा दिने मन्त्रीहरू नियुक्त भएका थिए।

मन्त्रिपरिषद्का ६ निर्णय

बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा महत्त्वपूर्ण निर्णय गरेको छ।

बैठकले परिमार्जित ‘कोशी प्रदेश तथ्याङ्क नियमावली, २०८३’ र ‘कोशी प्रदेश वन (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गरेको छ।

यस्तै, प्रदेश योजना आयोगका सचिव विष्णुप्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाललाई प्रदेश योजना आयोगमा कामकाजका लागि खटाउने निर्णय गरिएको छ। शिक्षा विकास निर्देशनालयका अधिकृत विष्णुप्रसाद पोखरेलको अनिवार्य अवकाशसमेत स्वीकृत गरिएको छ।

बैठकले साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीहरूको नयाँ तलबमान र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता स्वीकृत गरेको छ। साथै, ‘कोशी प्रदेश दलित अधिकारसम्बन्धी विधेयक’ प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार