Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

मातृभाषा जोगाउनु भनेको सभ्यता, संस्कृति र पुर्खाको ज्ञानलाई निरन्तरता दिनु हो : मन्त्री गौतम

मातृभाषा जोगाउनु भनेको सभ्यता, संस्कृति र पुर्खाको ज्ञानलाई निरन्तरता दिनु हो : मन्त्री गौतम

नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मातृभाषाको संरक्षण र प्रवर्द्धन गर्नु भनेको केवल भाषा जोगाउने कार्य मात्र नभई सभ्यता, संस्कृति तथा पुर्खाहरूबाट प्राप्त ज्ञानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको बताउनुभएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घद्वारा सोमबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गौतमले भाषा समुदायको पहिचान र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्नुभयो। ‘मातृभाषा पत्रकारिता : भाषा संरक्षण, सांस्कृतिक अधिकार र दिगो विकास’ भन्ने नारासहित आयोजित सम्मेलनमा उहाँले भाषाको प्रयोग बढाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

मन्त्री गौतमले कतिपय भाषा समुदायमा सीमित भए पनि तिनको प्रयोग र संरक्षणमा ध्यान नदिए ती भाषा क्रमशः लोप हुने खतरा रहने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “भाषालाई जीवन्त राख्नु भनेको हाम्रो सभ्यता, संस्कृति र पुर्खाहरूको ज्ञानलाई पनि अगाडि बढाउनु हो।” उहाँका अनुसार भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, परम्परा र पहिचानको आधार पनि हो।

उहाँले राज्यका सूचना र सेवाहरू देशका सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै सूचना पहुँचमा रहेको दूरी हटाउन मातृभाषी पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। नेपालको दुर्गम तथा विविध भाषिक समुदायसम्म सरकारी सूचना र सन्देश पुर्‍याउन मातृभाषा पत्रकारिताले उल्लेखनीय योगदान दिएको उहाँको भनाइ थियो।

मन्त्री गौतमले राज्यले सूचना पहुँच विस्तारका लागि विभिन्न प्रयास गरिरहेको भए पनि भाषिक विविधतायुक्त समाजमा त्यो दूरी घटाउने महत्वपूर्ण जिम्मेवारी पत्रकार र सञ्चारकर्मीको काँधमा रहेको बताउनुभयो। मातृभाषामा सञ्चार सामग्री उत्पादन र प्रसारणले सूचनाबाट वञ्चित समुदायलाई मूलधारमा जोड्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले मातृभाषी पत्रकारहरूले आफूलाई उपेक्षित वा विभेदमा परेको महसुस नगर्न आग्रह गर्दै यस विषयमा समाजका सबै पक्षले आत्मआलोचना र सुधारको बाटो अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सूचनाको पहुँचबाट टाढा रहेका नागरिकलाई सूचना उपलब्ध गराई उनीहरूलाई राष्ट्रिय मूलधारमा जोड्ने कार्यमा मातृभाषी पत्रकारहरूले पुर्‍याएको योगदानप्रति मन्त्री गौतमले कृतज्ञता व्यक्त गर्नुभयो।

मन्त्री गौतमले नेपालको भाषिक विविधता देशको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मातृभाषाको संरक्षण, पत्रकारिताको विकास र सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि राज्य, सञ्चार क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले मातृभाषा पत्रकारिताले समावेशी समाज निर्माण र दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार