Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

जेन–जी सहिद दिवसलाई भव्य बनाउन सहिद परिवारको पहल

जेन–जी सहिद दिवसलाई भव्य बनाउन सहिद परिवारको पहल

नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । जेन–जी आन्दोलनले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको एक वर्ष पुग्न अब २९ दिन मात्र बाँकी छ। तर, आन्दोलनकै जगमा बनेको सरकारले पहिलो ‘जेन–जी सहिद दिवस’ कसरी मनाउने भन्ने विषयमा अहिलेसम्म औपचारिक तयारी थालेको छैन।

पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रत्येक वर्ष २३ भदौलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो। तर, २१ फागुनको निर्वाचनपछि १३ चैतमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भए पनि पहिलो सहिद दिवसको कार्यक्रमबारे अहिलेसम्म छलफल सुरु नभएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार सहिद दिवस मनाउने निर्णय यसअघि नै भइसकेको भए पनि यस वर्ष कार्यक्रम कुन स्वरूपमा आयोजना गर्ने भन्नेबारे अहिलेसम्म छलफल भएको छैन।

४५ जनालाई सहिद घोषणा

२०८२ सालको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकार ढलेको थियो। त्यसपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले ३० भदौमा आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा गर्ने, परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचार गर्ने तथा मृतकको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको थियो। सरकारले प्रत्येक सहिद परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णयसमेत गरेको थियो।

सोही निर्णयअनुसार १ असोज २०८२ मा राष्ट्रिय शोक मनाइएको थियो। देशभर सार्वजनिक बिदा दिइएको थियो भने सरकारी कार्यालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको थियो।

त्यसपछि सरकारले १७ कात्तिकमा आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई औपचारिक रूपमा सहिद घोषणा गरेको थियो। १५ मंसिरको मन्त्रिपरिषद् बैठकले सहिद परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गर्दै प्रत्येक वर्ष २३ भदौलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो।

सहिद परिवार आफैँ कार्यक्रम गर्ने तयारीमा

सरकारले औपचारिक तयारी अघि नबढाए पनि जेन–जी आन्दोलनका सहिद परिवार भने पहिलो सहिद दिवसलाई विशेष रूपमा मनाउने तयारीमा जुटेका छन्।

जेन–जी सहिद परिवार कल्याणकारी समाजले आन्दोलनका क्रममा परिवारका सदस्यले ज्यान गुमाएको नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा सहिद परिवार, घाइते तथा सर्वसाधारणको सहभागितामा कार्यक्रम गर्ने तयारी गरेको छ। यसका लागि समाजले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति माग्दै निवेदनसमेत दिएको छ।

समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंका अनुसार २३ भदौमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने योजना छ। कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गर्ने तयारी गरिएको छ।

सरकारले औपचारिक कार्यक्रम आयोजना नगरे सहिद परिवार आफैँले दिवस मनाउने चौलागाईंले बताए। सहिद परिवार तथा घाइतेहरूले दिवसको स्वरूपबारे जेन–जी आन्दोलनमा सक्रिय अभियन्ताहरूसँग समेत छलफल गरिरहेका छन्।

अभियन्ता रविकिरण हमालले जेन–जी आन्दोलनकै जगमा बनेको वर्तमान सरकारले सहिद दिवसलाई राष्ट्रिय स्तरको कार्यक्रमका रूपमा मनाउनुपर्ने बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीको संयोजकत्वमा ‘जेन–जी सहिद दिवस मूल समारोह समिति’ गठन गरी देशभर भव्य रूपमा दिवस मनाउनु उपयुक्त हुन्छ।

यसरी, जेन–जी आन्दोलनको एक वर्ष पूरा हुन २९ दिन मात्र बाँकी रहँदा सहिद परिवार र अभियन्ताहरूले दिवसको तयारी अघि बढाइरहेका छन्। तर, आन्दोलनकै बलमा बनेको सरकार भने अहिलेसम्म औपचारिक तयारी र छलफलमै प्रवेश नगरेको अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार