Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

थोबोडाँडाको कथा सुनाउँदै चरिकोटमा मनाइयो फोनिजको २७औँ स्थापना दिवस

थोबोडाँडाको कथा सुनाउँदै चरिकोटमा मनाइयो फोनिजको २७औँ स्थापना दिवस

नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवस दोलखाको सदरमुकाम चरिकोटमा विविध कार्यक्रमसहित मनाइएको छ।

स्थापना दिवसका अवसरमा बिगु गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल थोबोडाँडा (१२ सय पल्टन) सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो। ऐतिहासिक महत्व बोकेको थोबोडाँडाको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरिएको फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रीनले बताउनुभयो।

कार्यक्रममा फोनिज दोलखाका पूर्वअध्यक्ष सुवास योञ्जनलाई ‘फोनिज पत्रकारिता सम्मान, दोलखा–२०८३’ बाट सम्मान गरिएको छ। उहाँलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजकुमार लामा तथा आमाको माया छात्रावास, चरिकोटका संगठन विभाग सचिव गणेशकुमार प्रजालाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रीनको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य उर्मिला सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले आदिवासी जनजाति समुदायका मुद्दा, पहिचान, भाषा, संस्कृति तथा अधिकारका विषयलाई पत्रकारितामार्फत प्रभावकारी रूपमा उठान गर्न फोनिजले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार