नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला ।राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह सुरु गरेको छ।
सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न प्रशासनले साउन २३ गते शनिबार र २४ गते आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गरेको हो। बिदाका दिन बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सेवा दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसअघि साउन ८ गतेदेखि कार्यालयले नियमित समयभन्दा थप समय सेवा दिँदै आएको थियो। प्रशासनले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
जनशक्तिको अभाव र राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणाली ढिलो चल्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने तथा सेवा लिन कठिनाइ भोग्नुपर्ने अवस्था आएपछि कार्यालयले अतिरिक्त समय र बिदाका दिनमा समेत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सेवाग्राहीलाई सहज र झन्झटमुक्त सेवा उपलब्ध गराउनु प्रशासनको प्राथमिकता रहेको बताउनुभयो। टाढाबाट राष्ट्रिय परिचयपत्र बनाउन आउने नागरिक पालो नपाएर फर्किनुपर्ने अवस्था अन्त्य गर्न बिहानैदेखि तथा बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
प्रशासनले राष्ट्रिय परिचयपत्रका लागि टोकन प्रणाली लागू गरेको छ। सेवाग्राहीलाई आफ्नो तोकिएको पालोअनुसार मात्र कार्यालयमा उपस्थित भएर सेवा लिन आग्रह गरिएको छ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भए पनि विभागीय प्रणालीमा विवरण अद्यावधिक नभएसम्म फोटो खिच्ने प्रक्रिया अघि नबढ्ने भएकाले विवरण प्रणालीमा अद्यावधिक भएपछि मात्र कार्यालयमा आउन प्रशासनले अनुरोध गरेको छ।
यसअघि दैनिक करिब एक सय जनाको मात्र विवरण दर्ता हुँदै आएको थियो। चाप बढेपछि थप मेसिन र जनशक्तिको व्यवस्था गर्न सम्बन्धित माथिल्लो निकायमा पत्राचारसमेत गरिसकिएको प्रशासनले जनाएको छ।
बिदाका दिनमा समेत सेवा उपलब्ध हुन थालेपछि टाढा–टाढाबाट राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई राहत पुगेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij