Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

सरकारद्वारा कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउन १ देखि लागू

सरकारद्वारा कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउन १ देखि लागू

नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी (२२ साउन, २०८४, ७ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान र सुविधा स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार १० प्रतिशत तलब वृद्धि र थप १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न नयाँ तलबमान अनुमोदन गरेको हो। यससँगै साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीले बढेको तलब प्राप्त गर्नेछन्। नयाँ तलबमान मन्त्रालयअन्तर्गतका निकाय, समिति तथा सार्वजनिक संस्थानमा समेत लागू हुनेछ।

अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमानअनुसार मुख्यसचिव र प्रधानसेनापतिको तलब दुई ग्रेडसहित ९० हजार ५९४ रुपैयाँ कायम भएको छ, जुन सबैभन्दा बढी हो। सचिवको तलब दुई ग्रेडसहित ८४ हजार ५७६ रुपैयाँ तथा सहसचिवको तलब सात ग्रेडसहित अधिकतम ७७ हजार ४० रुपैयाँ पुगेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको तलब सचिवसरह दुई ग्रेडसहित ८४ हजार ५७६ रुपैयाँ निर्धारण गरिएको छ। संसद् सेवाका विशिष्ट कर्मचारी तथा स्वास्थ्य सेवाका बाह्रौँ तहका अधिकृतको तलब पनि यही बराबर कायम गरिएको छ।

सामुदायिक विद्यालयका माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले छ ग्रेडसहित ७४ हजार ९५८ रुपैयाँ तलब पाउनेछन् भने प्रदेश तथा स्थानीय तहका एघारौँ तहका अधिकृतको तलब पाँच ग्रेडसहित ७७ हजार ६२९ रुपैयाँ कायम गरिएको छ।

सरकारले स्वीकृत गरेको तलबमान आधारभूत तलब मात्र भएकाले यसमा १० प्रतिशत प्रोत्साहन भत्ता, महँगी भत्ता तथा सम्बन्धित निकायको प्रकृतिअनुसार उपलब्ध हुने अन्य भत्तासमेत थपिनेछन्। त्यसैले कर्मचारीले प्राप्त गर्ने वास्तविक मासिक पारिश्रमिक स्वीकृत तलबमानभन्दा उल्लेख्य रूपमा बढी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार