Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

सम्पत्ति कर विवाद समाधान गर्न मालपोतसँग छलफल गर्ने काठमाडौं महानगर

सम्पत्ति कर विवाद समाधान गर्न मालपोतसँग छलफल गर्ने काठमाडौं महानगर

नेपाल सम्वत् ११४६, दिल्लागाः ७ अष्टमी (२० साउन, २०८४, ५ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिकाले मुल सडकलाई आधार मानेर भित्री क्षेत्रमा रहेका भवनहरूको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने भएको छ।

महानगरको केन्द्रीय कार्यालय काठमाडौं प्लाजामा बसेको ५५औँ कार्यपालिका बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कर निर्धारणसम्बन्धी गुनासो समाधानका लागि मालपोत कार्यालयसँग छलफल गरिने बताउनुभयो। उहाँका अनुसार समन्वय बैठकबाट समाधान ननिस्किए कार्यपालिका अन्तर्गतको विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगले संयुक्त अध्ययन गरी आवश्यक समाधानको प्रस्ताव तयार गर्नेछन्।

डंगोलले राजस्वका दरमा परिवर्तन गर्दा दीर्घकालीन असर पर्ने भएकाले पर्याप्त अध्ययनबिना कुनै हेरफेर नगरिएको स्पष्ट पार्नुभयो। उहाँले विगतमा कायम रहेको दररेटलाई नै निरन्तरता दिइएको जानकारी दिनुभयो।

बैठकमा विविधसहित १२ वटा प्रस्तावमाथि छलफल भएको थियो। प्रशासन, सम्पदा तथा पर्यटन, सामाजिक क्षेत्र, स्वास्थ्य तथा वातावरणसम्बन्धी विभिन्न प्रस्ताव सम्बन्धित समितिका संयोजक तथा विभागीय प्रमुखहरूले प्रस्तुत गरेका थिए।

कार्यपालिकाले सहरी योजना आयोगका नयाँ सदस्यहरूको नियुक्ति अनुमोदन गरेको छ। आयोगमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डंगोल, पुरुषोत्तम महत र दामोदर गिरी नियुक्त भएका छन्।

त्यसैगरी नगर प्रहरी नायव उपरीक्षक शिवलाल पौडेल र पूर्णचन्द्र भट्टलाई नगर प्रहरी उपरीक्षक तथा नगर प्रहरी निरीक्षक रामेश्वर उपाध्यायलाई नगर प्रहरी नायव उपरीक्षकको कायम मुकायम जिम्मेवारी दिने निर्णय गरिएको छ। करार सेवाका कर्मचारीहरूको म्याद थप गर्ने तथा महिला तथा बालबालिका महाशाखा प्रमुख जानकी सिंहलाई बाल कल्याण अधिकारी तोक्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने, काठमाडौं फिल्म फेस्टिभलको कार्ययोजना तथा अनुमानित बजेट स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

यस्तै भूमि समस्या समाधान समितिबाट प्राप्त पत्रमाथि पनि बैठकमा विस्तृत छलफल भएको थियो। अव्यवस्थित बसोबासी, स्ववासी तथा बेनिस्साका जग्गाको व्यवस्थापनका विषयमा कार्यपालिका सदस्यहरूले धारणा राखेका थिए। महानगरका निर्देशक वसन्त आचार्यले भूमि समस्या समाधानका लागि हालसम्म भएका प्रयास, समन्वय र कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार