Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाका आगलागीपीडित खड्का परिवारको सहारामा सशस्त्र प्रहरी र गाउँपालिका

दोलखाका आगलागीपीडित खड्का परिवारको सहारामा सशस्त्र प्रहरी र गाउँपालिका

नेपाल सम्वत् ११४६, दिल्लागाः ६ षष्ठी (१९ साउन, २०८४, ४ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला ।

दोलखाको गौरीशंकर गाउँपालिका–३ (साविक झ्याकु गाविस–९) सर्सेपुका आगलागीपीडित निरबहादुर खड्काको परिवारलाई सशस्त्र प्रहरी बल, नेपालले आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ। साथै, गौरीशंकर गाउँपालिकाले घर पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

police.gif

गत साउन १६ गते विद्युत् सर्ट भई भएको भीषण आगलागीबाट खड्काको घर तथा घरभित्र रहेका धनमाल पूर्ण रूपमा नष्ट भएको थियो। आगलागीपछि अस्थायी बसोबासमा रहेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंगटीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १८ गुल्म, हेडक्वाटर दोलखा अन्तर्गत रहेको डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनरमा सञ्चित अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो।

सशस्त्र प्रहरीको टोलीले पीडित परिवारलाई आवश्यक दैनिक उपभोगका सामग्रीहरू बुझाएको जनाएको छ। राहत सामग्रीमा स्टेनलेस स्टिलका थाल, कचौरा, गिलास, चम्चालगायतका भान्साका सामग्री, क्याम्प खाट, बेडसिट, सिरानी, सिरानीको खोल, ट्राभल ब्ल्याङ्केट, बाल्टिन, मग, पानीका बोतल, नुहाउने टावेल तथा पोर्टेबल ह्याङ्गिङ लाइट समावेश छन्।

यसैबीच, आगलागीबाट घरविहीन बनेको खड्का परिवारको स्थायी आवास निर्माणका लागि गौरीशंकर गाउँपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले पालिकाको तर्फबाट नयाँ घर पुनर्निर्माणका लागि उक्त रकम राहतस्वरूप उपलब्ध गराइने जानकारी दिनुभएको हो।

विपद्को कठिन घडीमा सशस्त्र प्रहरी बल र स्थानीय सरकारले गरेको समन्वयात्मक सहयोगले पीडित परिवारलाई तत्काल राहत पुग्नुका साथै पुनर्स्थापनाको प्रक्रिया अघि बढाउन महत्वपूर्ण आधार तयार भएको स्थानीयवासीले बताएका छन्।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार