नेपाल सम्वत् ११४६, दिल्लागाः ५ पञ्चमी (१८ साउन, २०८४, ३ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । दोलखाको बोत्लेमा सहादत प्राप्त गरेका शहीदहरूको सम्झना र सम्मानमा २४औँ बोद्ले स्मृति दिवस काठमाडौंको बानेश्वरस्थित काठमाडौं ब्याङ्केट हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न कम्युनिष्ट धारका शीर्ष नेताहरू, शहीद परिवार, राजनीतिक कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका सह–संयोजक माधवकुमार नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नेकपा (एमाले) का नेता शंकर पोखरेल तथा वरिष्ठ वामपन्थी नेता सिपी मैनाली विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटा, नेकपा (एमाले) का नेताहरू आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ लगायत विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम नेकपा दोलखाका संयोजक अशोक दाहाल को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रारम्भमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शंकर लामा ले स्वागत मन्तव्य राख्दै प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, विभिन्न राजनीतिक दलका नेता, शहीद परिवार, कार्यकर्ता तथा उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्नुभएको थियो।
स्मृति दिवसका अवसरमा बोत्ले हत्याकाण्डमा सहादत प्राप्त गरेका शहीदहरूको योगदानको उच्च सम्मान गर्दै शहीद परिवारलाई खादा ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै शहीद परिवारका सदस्यहरूले शहीदहरूको योगदानलाई राज्य र समाजले सदैव उच्च सम्मानका साथ स्मरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
करिब पाँच सय जनाको सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले बोत्ले हत्याकाण्डमा सहादत प्राप्त गरेका शहीदहरूको बलिदान नेपालको राजनीतिक परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनीहरूले लोकतन्त्र, सामाजिक न्याय, समानता र जनअधिकार स्थापनाका लागि शहीदहरूले दिएको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा. मुक्तिनारायण प्रधान ले 'बोत्ले हत्याकाण्ड : इतिहास, योगदान र वर्तमान सन्दर्भ' विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले बोत्ले हत्याकाण्ड नेपाली जनआन्दोलनको इतिहासमा महत्वपूर्ण अध्याय भएको उल्लेख गर्दै शहीदहरूको बलिदानलाई इतिहासमा मात्र सीमित नराखी उनीहरूले देखाएको राजनीतिक आदर्श, सामाजिक न्याय र जनमुखी परिवर्तनको अभियानलाई व्यवहारमा लागू गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसपछि आयोजित स्मरण तथा श्रद्धाञ्जली सभामा नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सह–संयोजक माधवकुमार नेपाल, नेकपा (एमाले) का नेता शंकर पोखरेल, वरिष्ठ वामपन्थी नेता सिपी मैनाली तथा नेकपा दोलखा इञ्चार्ज विशाल खड्का ले बोत्लेमा सहादत प्राप्त शहीदहरूको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो। वक्ताहरूले शहीदहरूको त्याग, साहस र समर्पणले मुलुकको राजनीतिक परिवर्तनलाई नयाँ दिशा दिएको उल्लेख गर्दै उनीहरूको सपना पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि प्रचण्डसहित विभिन्न वक्ताहरूले शहीदहरूको सपना केवल स्मरण गर्ने विषय मात्र नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने दायित्व सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज र राज्यको भएको बताए। उनीहरूले शहीदहरूले देखाएको मार्गलाई आत्मसात् गर्दै सुशासन, समावेशी विकास, सामाजिक न्याय र जनताको अधिकार सुनिश्चित गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
वक्ताहरूले बोत्ले हत्याकाण्ड नेपाली इतिहासको दुःखद तर प्रेरणादायी अध्याय भएको उल्लेख गर्दै शहीदहरूको बलिदानले परिवर्तनको जग निर्माण गरेको बताए। उनीहरूले शहीदहरूको त्याग र आदर्शलाई पुस्तान्तरण गर्दै लोकतान्त्रिक मूल्य, सामाजिक समानता र समृद्ध नेपालको निर्माणतर्फ सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
स्मृति दिवसमा शहीदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूको जीवन संघर्ष, योगदान र आदर्शलाई स्मरण गरिएको थियो। उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले शहीदहरूको अधूरो सपना पूरा गर्ने संकल्प दोहोर्याउँदै समानतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
दोलखाको बोत्लेमा सहादत प्राप्त शहीदहरूको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको बोद्ले स्मृति दिवस यस वर्ष पनि शहीदप्रतिको सम्मान, उनीहरूको योगदानको स्मरण तथा भावी पुस्तालाई इतिहासप्रति सचेत गराउने महत्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रम नेकपा दोलखा काठमाण्डौ समन्वय समितीका अध्यक्ष इराज कुमार राउतले संचालन गर्नु भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij