Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

साम्प्रदायिक तनाव साम्य भएपछि गृहमन्त्री सुधन गुरुङ काठमाडौं फर्किए

साम्प्रदायिक तनाव साम्य भएपछि गृहमन्त्री सुधन गुरुङ काठमाडौं फर्किए

नेपाल सम्वत् ११४६, दिल्लागाः ४ चौठी (१७ साउन, २०८४, २ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । पूर्वी तराई र मधेसका जिल्लामा देखिएको साम्प्रदायिक तनाव साम्य भएपछि गृहमन्त्री सुधन गुरुङ आइतबार साँझ काठमाडौं फर्किएका छन्। सरकार र आन्दोलनरत पक्षबीच सहमति भई आन्दोलन स्थगित भएपछि क्षेत्रको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षसहित उहाँ राजधानी फर्किनुभएको हो।

सुनसरीको कप्तानगञ्ज, सिरहा लगायत मधेसका विभिन्न जिल्लामा साम्प्रदायिक विवाद चर्किएपछि शान्ति–सुरक्षा व्यवस्थापन, घटनास्थलको वस्तुस्थिति बुझ्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न गृहमन्त्री गुरुङ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासँग छलफल गरी शान्ति कायम गर्न आवश्यक निर्देशन दिनुभएको थियो।

साम्प्रदायिक विवादका क्रममा भएका झडप र हिंसात्मक घटनामा तीन जनाको ज्यान गएको थियो भने विभिन्न स्थानमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। त्यसपछि सरकारले आन्दोलनरत पक्षसँग निरन्तर संवाद अघि बढाएको थियो। अन्ततः दुवै पक्षबीच सहमति भएपछि आन्दोलन स्थगित भएको र त्यससँगै प्रभावित क्षेत्रको अवस्था सामान्य बन्दै गएको बताइएको छ।

गृह मन्त्रालयका अनुसार हाल प्रभावित जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कतामा राखिएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाइनुका साथै जनजीवनलाई सहज र सामान्य बनाउन आवश्यक समन्वय जारी रहेको मन्त्रालयले जनाएको छ।

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा रहँदा स्थानीय समुदायबीच सद्भाव, सामाजिक एकता र आपसी सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको थियो। उहाँले कानुन हातमा लिने वा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने बताउनुभएको थियो।

सरकारले सहमतिको पूर्ण कार्यान्वयन, शान्ति–सुरक्षाको दिगो व्यवस्थापन तथा प्रभावित क्षेत्रको अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आन्दोलन स्थगित भएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको र बजार, यातायात तथा अन्य दैनिक गतिविधि पनि नियमित हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार