नेपाल सम्वत् ११४६, दिल्लागाः ४ चौठी (१७ साउन, २०८४, २ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । नेपाली सेनाको चरिकोटस्थित गरुडदल गणले आफ्नो १४६औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै भिमेश्वर नगरपालिका–६ रामकोटस्थित आमाको माया छात्रावासमा आश्रित बालिकाहरूसँग विशेष बिहानी भोजन कार्यक्रम आयोजना गरेको छ।
आइतबार गणपति कर्णेल लोकसागर कटुवालको नेतृत्वमा पुगेको नेपाली सेनाको टोलीले छात्रावासमा आश्रित करिब ४० जना बालिकासँग सामूहिक रूपमा भोजन गर्दै उनीहरूको स्वास्थ्य, शिक्षा तथा दैनिक जीवनबारे जानकारी लिएको थियो। सेनाका अधिकारी र बालिकाबीच आत्मीय संवाद, हाँसो–खुसी र सद्भाव साटासाट भएको उक्त कार्यक्रमले वार्षिकोत्सवलाई थप अर्थपूर्ण र मानवीय बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै गणपति कर्णेल लोकसागर कटुवालले नेपाली सेनाको जिम्मेवारी राष्ट्रिय सुरक्षा कायम गर्नुमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी संस्थाका रूपमा मानवीय सेवा र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। औपचारिक समारोहभन्दा फरक शैलीमा आवश्यकतामा रहेका बालबालिकासँग खुसी बाँड्दै वार्षिकोत्सव मनाउन पाउँदा आफूलाई विशेष सन्तुष्टि मिलेको उहाँले उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने उहाँको प्रतिबद्धता थियो।
छात्रावास सञ्चालन समितिका उपाध्यक्ष शिव केसीले नेपाली सेनाले देखाएको आत्मीयता, माया र सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले छात्रावासमा आश्रित बालबालिकाको मनोबल बढाउनुका साथै उनीहरूमा आत्मविश्वास र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी जनजाति कल्याण आश्रम नेपालका विभाग संगठन सचिव गणेश कुमार प्रजा तथा छात्रावास प्रमुख सुदीप मगरले पनि नेपाली सेनाको सामाजिक संवेदनशीलता, सहयोगी भावना र सद्भावपूर्ण पहलको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
गरुडदल गणले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक सेवासँग जोड्दै समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ यस्ता मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता गतिविधिले नेपाली सेना र स्थानीय समुदायबीचको विश्वास, आत्मीयता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij