Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

कांग्रेस विभाजनको संघारमा: शशांकको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, २९ साउन निर्णायक

कांग्रेस विभाजनको संघारमा: शशांकको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, २९ साउन निर्णायक

नेपाल सम्वत् ११४६, दिल्लागाः ४ चौठी (१७ साउन, २०८४, २ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब विभाजनको संघारमा पुगेको छ। लामो समयदेखि संस्थापन पक्ष र १४औँ महाधिवेशन पक्षधर (संस्थापन इतर) समूहबीच जारी शक्ति संघर्षले निर्णायक मोड लिएको छ। दुवै पक्षबीच अन्तिम समयसम्म सहमति हुन नसके २९ देखि ३१ साउनसम्म हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिएको छ।

१४औँ महाधिवेशन पक्षधर समूहले कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका पुत्र तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई आफ्नो समूहको नेता घोषणा गर्दै ५५१ सदस्यीय राष्ट्रिय कार्यकर्ता भेला मूल आयोजक समिति गठन गरेको छ। पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार समूहले सर्वसम्मत रूपमा शशांकलाई नेतृत्वको जिम्मेवारी दिएको हो। उनले यो निर्णयले समूहभित्र नेतृत्वबारे रहेका सबै आशंकाको अन्त्य भएको दाबी गरेका छन्।

समूहले शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजनीतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति, प्रचार–प्रसारलगायत १६ वटा समिति गठन गरेको जानकारी दिएको छ। कार्यक्रममा शशांक कोइरालासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, एनपी साउद, मीन विश्वकर्मालगायत नेताहरू सहभागी थिए। सभापति शेरबहादुर देउवा विदेशमा रहेकाले उपस्थित भएनन् भने पूर्णबहादुर खड्का र शेखर कोइराला पनि कार्यक्रममा अनुपस्थित थिए।

यद्यपि, शशांक कोइरालाले शेखर कोइरालाको समर्थन आफूलाई रहेको दाबी गरेका छन्। उनले शेखरसँग निरन्तर संवाद भइरहेको र विराटनगरमा रहेका कारण मात्र कार्यक्रममा सहभागी हुन नसकेको बताएका छन्। विमलेन्द्र निधिले पनि शेखर कोइराला र पूर्णबहादुर खड्काको सहमति रहेको दाबी गर्दै सबै निर्णय सर्वसम्मत रूपमा भएको बताएका छन्।

समूहका नेताहरूले २९ साउनसम्म संस्थापन पक्षसँग सहमति हुन नसके नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी रहेको स्पष्ट पारेका छन्। यद्यपि, नयाँ पार्टी गठन गर्ने अन्तिम निर्णय राष्ट्रिय कार्यकर्ता भेलाले गर्ने निधिले बताएका छन्। बजारमा नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ हुने चर्चा चले पनि उनले त्यसबारे कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।

शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले आफ्नै संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गरिएको उल्लेख गरेका छन्। पार्टीभित्र एकताका लागि पटक–पटक प्रयास गर्दा पनि नेतृत्व तहबाट सकारात्मक पहल नभएकाले नेता–कार्यकर्ता, जनप्रतिनिधि, समर्थक तथा शुभेच्छुकमा बढ्दो निराशालाई सम्बोधन गर्न भेला आयोजना गर्नुपरेको उनको भनाइ छ। राष्ट्रिय भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वसांसद, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय सभापति, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलगायतलाई सहभागी हुन आह्वान गरिएको छ।

यता संस्थापन पक्ष भने पार्टी विभाजन रोक्न अझै प्रयास जारी रहेको दाबी गरिरहेको छ। महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशन वैधानिक रहेको, त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको उल्लेख गर्दै अहिलेको प्राथमिकता पार्टीलाई एकताबद्ध राखेर समयमै १५औँ महाधिवेशन सम्पन्न गर्नु रहेको बताएका छन्। उनका अनुसार सभापति शेरबहादुर देउवाले विभिन्न नेतासँग निरन्तर संवाद गरिरहेका छन् र सहमतिका लागि ढोका अझै खुला छ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेका अनुसार पछिल्ला घटनाक्रमले कांग्रेसभित्रको संकट थप गहिरिएको संकेत गरेका छन्। बिपी कोइरालाको स्मृति दिवससमेत एउटै मञ्चबाट मनाउन नसकी समानान्तर कार्यक्रम आयोजना हुनु र त्यसपछि शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला घोषणा हुनु कांग्रेस मनोवैज्ञानिक तथा राजनीतिक रूपमा विभाजनउन्मुख भएको स्पष्ट संकेत भएको उनको विश्लेषण छ। यद्यपि, उनले अहिलेको आवश्यकता विभाजनभन्दा पनि आत्मसमीक्षा, संवाद र पार्टी एकता भएको बताएका छन्।

कांग्रेसभित्रको पछिल्लो घटनाक्रमले नेपालको प्रमुख लोकतान्त्रिक शक्तिमा गम्भीर राजनीतिक संकट उत्पन्न भएको देखिएको छ। अब २९ देखि ३१ साउनसम्म हुने राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकताको सम्भावना जोगिन्छ कि कांग्रेस औपचारिक रूपमा विभाजन भएर नयाँ राजनीतिक शक्ति जन्मिन्छ भन्ने विषयको अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार