नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८४, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२, कारीपोककी कुमारी जोशी चाकुबजी र हाल जापानमा बसोबास गर्दै आउनुभएकी सिर्जना जोशी चाकुबजीले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ।
श्रावण १५ अर्थात् खिर खाने विशेष पर्वको अवसरमा उहाँहरूले चरणावती ज्येष्ठ नागरिक सेवा केन्द्र धाममा आश्रित ज्येष्ठ नागरिकहरूलाई बिहानको भोजन गराउनुका साथै आवश्यक लत्ताकपडा वितरण गर्नुभएको हो।
जन्मदिनलाई केवल व्यक्तिगत खुसीको अवसरका रूपमा नमनाई समाजका ज्येष्ठ नागरिकसँग खुसी, सम्मान र आत्मीयता साटासाट गर्ने उद्देश्यले गरिएको यस सेवामूलक कार्यले मानवता र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरूले कुमारी जोशी चाकुबजी र सिर्जना जोशी चाकुबजीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै आशीर्वाद व्यक्त गर्नुभएको थियो। स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले पनि जन्मदिनलाई सेवासँग जोड्ने उहाँहरूको सोच प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्।
कुमारी जोशी चाकुबजी दोलखाको शिक्षा तथा सामाजिक क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्छ। उहाँ श्री राजकुलेश्वर आधारभूत विद्यालयकी पूर्वप्रधानाध्यापक हुनुका साथै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। हाल जापानमा रहे पनि उहाँले आफ्नो जन्मभूमिप्रतिको माया र सामाजिक सेवाको भावनालाई निरन्तरता दिँदै आउनुभएको छ।
त्यसैगरी सिर्जना जोशी चाकुबजी पनि सामाजिक सेवाप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। देउरानी–जेठानीको संयुक्त पहलमा सम्पन्न यस कार्यले व्यक्तिगत उत्सवलाई समाजसेवा र मानवीय सहयोगसँग जोड्ने सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij