Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कालिञ्चोकको सफलतापछि शिवाकोटीको नयाँ योजना, दुई धार्मिकस्थलमा केबलकार

कालिञ्चोकको सफलतापछि शिवाकोटीको नयाँ योजना, दुई धार्मिकस्थलमा केबलकार

नेपाल सम्वत् ११४६, दिल्लागाः २ द्वितिया (१५ साउन, २०८४, ३१ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । दोलखाको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य कालिञ्चोकमा सफलतापूर्वक केबलकार सञ्चालन गरिरहेका व्यवसायी बालकृष्ण शिवाकोटीले अब देशका थप दुई महत्वपूर्ण धार्मिकस्थलमा केबलकार निर्माण गर्ने तयारी अघि बढाउनुभएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उहाँले सिन्धुपाल्चोक–रसुवा जोड्ने गोसाइँकुण्ड तथा अर्घाखाँचीको सुपा देउरालीमा नयाँ केबलकार आयोजना अघि सार्नुभएको हो।

शिवाकोटीको नेतृत्वमा अघि बढाइएको 'सूर्यकुण्ड–गोसाइँकुण्ड केबलकार' आयोजना करिब १० अर्ब १ करोड रुपैयाँ लागतमा निर्माण हुने प्रस्ताव गरिएको छ। समुद्री सतहबाट करिब ४,३८० मिटर उचाइमा अवस्थित पवित्र गोसाइँकुण्ड पुग्न अहिले घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेकामा केबलकार सञ्चालनपछि यात्रुहरूलाई सहज पहुँच उपलब्ध हुने अपेक्षा गरिएको छ। आयोजनाले वार्षिक करिब ४ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ।

त्यसैगरी, पश्चिम नेपालको चर्चित धार्मिक गन्तव्य अर्घाखाँचीस्थित सुपा देउरालीमा पनि १ अर्ब ३० करोड रुपैयाँ लागतमा केबलकार निर्माणको प्रक्रिया अघि बढाइएको छ। यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) को कामसमेत अघि बढिसकेको जनाइएको छ।

यी दुई आयोजना सम्पन्न हुँदा कुल ११ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी लगानी धार्मिक पर्यटन पूर्वाधारमा थपिनेछ। यसबाट धार्मिक पर्यटनको विस्तार, स्थानीय रोजगारी सिर्जना, होटल तथा व्यवसाय प्रवर्द्धन र सम्बन्धित क्षेत्रको आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ।

कालिञ्चोकपछि गोसाइँकुण्ड र सुपा देउरालीमा समेत केबलकार विस्तारको योजनाले नेपालका प्रमुख धार्मिक गन्तव्यहरूलाई सहज र आधुनिक यातायातसँग जोड्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार