नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ।
सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै उहाँले यस्तो संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभयो।
प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता प्राकृतिक विपद् तथा संविधान निर्माणजस्ता जटिल राजनीतिक प्रक्रियामा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले राष्ट्रिय महत्वका यस्ता संवेदनशील विषयमा सरकार साझा समाधान खोज्न पर्याप्त रूपमा सक्रिय हुन नसकेको टिप्पणी गर्दै सर्वदलीय बैठक आयोजना गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धन्यवाद दिनुभयो।
प्रचण्डले सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील ढंगले काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। संसद्मा पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो।
उहाँले कुनै पनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने स्पष्ट पार्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्रै परिस्थितिलाई सहज बनाउन सकिने बताउनुभयो।
यस विषयमा आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिँदै उहाँले स्थानीय तहमा संयमता कायम राख्न तथा सामाजिक सद्भाव जोगाउन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई आवश्यक निर्देशन दिइसकिएको बताउनुभयो।
घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाह्य रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने सम्भावनातर्फ सचेत गराउँदै उहाँले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
"यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो," भन्दै प्रचण्डले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले अन्त्यमा सरकार, राजनीतिक दल तथा सम्पूर्ण सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई प्राथमिकतामा राख्दै एकजुट भएर वर्तमान परिस्थितिको समाधानतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij