Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

नागढुङ्गा सुरुङमार्ग: नेपाल–जापान मित्रताको ऐतिहासिक कोसेढुङ्गा: डा. तानाका

नागढुङ्गा सुरुङमार्ग: नेपाल–जापान मित्रताको ऐतिहासिक कोसेढुङ्गा: डा. तानाका

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १३ त्रयोदशी (११ साउन, २०८३, २७ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला ।  सोमबार आयोजित नागढुङ्गा सुरुङमार्ग उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल–जापानबीचको सात दशक लामो मित्रता, विश्वास र विकास सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले सुरुङमार्गले नेपालको यातायात पूर्वाधारमा नयाँ युगको सुरुआत गरेको उल्लेख गर्दै यसबाट नागरिकको दैनिक जीवन सहज हुने विश्वास व्यक्त गर्नुभयो।

डा. अकिहिकोका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ। यसले सवारी साधनको चाप घटाउने, सडक सुरक्षामा सुधार ल्याउने, इन्धनको खपत कम गर्ने तथा समग्र यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। राजधानी प्रवेश र बाहिरिने मुख्य नाकामध्ये एक रहेको नागढुङ्गा क्षेत्रमा वर्षौंदेखिको ट्राफिक जामको समस्या समाधानतर्फ यो आयोजना महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो।

उहाँले दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसबाट उत्पन्न विपद्का बेला निर्माणाधीन अवस्थामा रहेको यही सुरुङ करिडोरले आपत्कालीन सम्पर्क मार्गका रूपमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। उक्त अनुभवले प्राकृतिक विपद्का समयमा भरपर्दो र वैकल्पिक पूर्वाधारको आवश्यकता पुष्टि गरेको उहाँको भनाइ थियो।

हिमालय क्षेत्रको जटिल भू–गर्भीय संरचनाका कारण निर्माणका क्रममा पहिरो, चट्टानको विरूपण, जमिनको अत्यधिक दबाबलगायत चुनौतीहरू पटक–पटक सामना गर्नुपरेको थियो। ती सबै चुनौतीलाई जापानी अत्याधुनिक प्रविधि, इन्जिनियरिङ अनुभव र नेपाली प्राविधिक जनशक्तिको सहकार्यबाट सफलतापूर्वक समाधान गरिएको अध्यक्ष अकिहिकोले उल्लेख गर्नुभयो।

यस आयोजनाको अर्को महत्वपूर्ण पक्ष ९८ प्रतिशत नेपाली इन्जिनियर तथा कामदारको प्रत्यक्ष सहभागिता रहेको उहाँले बताउनुभयो। यसले नेपाली जनशक्तिको क्षमता अभिवृद्धि हुनुका साथै जापानी प्रविधि र अनुभव नेपालमै हस्तान्तरण भएको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ छ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सम्पन्न भएको यो आयोजना दुई देशबीचको आपसी विश्वास, मित्रता र विकास साझेदारीको सशक्त प्रतीक बनेको डा. अकिहिकोले बताउनुभयो। उहाँले यस सफलतालाई आधार बनाएर सुरुङमार्गको योजना, डिजाइन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारमा नेपालको प्राविधिक क्षमता थप सुदृढ बनाउन नयाँ प्राविधिक सहयोग कार्यक्रम सुरु गरिने जानकारी दिनुभयो।

जाइकाले नेपालको दिगो पूर्वाधार विकास, विपद् प्रतिरोधी संरचना निर्माण तथा प्राविधिक क्षमता अभिवृद्धिका क्षेत्रमा आगामी दिनमा पनि विश्वसनीय विकास साझेदारका रूपमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार