नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । पाँचथरका झरना, पोखरी र तमोर नदी पछिल्ला केही वर्षयता पानी पर्यटनका आकर्षक गन्तव्यका रूपमा उदाएका छन्। एक समय गुमनाम रहेका प्राकृतिक सम्पदाहरू अहिले सामाजिक सञ्जाल, साहसिक पर्यटन र स्थानीय संरक्षण अभियानका कारण देश–विदेशका पर्यटकको रोजाइमा पर्न थालेका छन्।
पहिले स्थानीयबाहेक धेरैको नजर नपरेका झरना, पोखरी र तमोर नदी अहिले सडक सञ्जालको विस्तारसँगै पर्यटकको पहुँचमा पुगेका छन्। विभिन्न स्थानमा पुगेका पर्यटक र सामग्री सिर्जनाकर्ताले युट्युब, टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत यहाँका प्राकृतिक सौन्दर्यलाई विश्वसामु पुर्याएपछि पाँचथरको पानी पर्यटनले नयाँ पहिचान बनाएको हो।
फिदिमको साधुटार पोखरी, फालेलुङको मुवा झरना, हिलिहाङको मिलुङ झरना सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेका छन्। त्यस्तै मिक्लाजुङका गोदोला–बोजोला ताल, कमल पोखरी, फिदिमको सुकेपोखरी, हिलिहाङको जोरपोखरी र याङवरकको कालोपोखरी संरक्षणपछि पुनः जीवन्त बनेर पर्यटक आकर्षित गरिरहेका छन्।
पानी सुकेर अस्तित्व संकटमा पुगेका केही पोखरी स्थानीय समुदायको संरक्षण प्रयासपछि पुनः भरिन थालेका छन्। यसले प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
तमोर नदीमा र्याफ्टिङ सञ्चालनका लागि सरकारले अनुमति दिएपछि पाँचथरको पानी पर्यटनले थप गति लिएको छ। सम्भाव्यता अध्ययनले तमोरलाई साहसिक जलयात्राका लागि उपयुक्त ठहर गरेपछि यहाँ र्याफ्टिङ गतिविधि विस्तार हुँदै गएको छ। यसले साहसिक पर्यटनप्रेमीलाई आकर्षित गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ।
वर्षायाममा झरनाहरू उर्लंदो सौन्दर्यमा देखिने भएकाले पर्यटकको आकर्षण बढ्ने गरेको छ। झरनाको गर्जन, पानीका फोहरा र हरियाली वातावरणले आगन्तुकलाई लोभ्याउने गर्छ। यद्यपि बाढी र पहिरोको जोखिमका कारण आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था पनि रहेको छ। हिउँदयाममा भने पोखरी अवलोकन र तमोरमा र्याफ्टिङ गर्ने पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्ने गरेको छ।
पर्यटनको विस्तारसँगै स्थानीय होटल, होमस्टे, गोठस्टे तथा अन्य साना व्यवसाय फस्टाउन थालेका छन्। यसबाट स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ।
स्थानीय तहहरूले पनि पानी पर्यटनलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकासमा लगानी बढाएका छन्। प्रदेश र संघीय सरकारसँगको सहकार्यमा झरना र पोखरीसम्म पुग्ने पदमार्ग, विश्रामस्थल, शौचालयलगायतका पर्यटकमैत्री संरचना निर्माण भइरहेका छन्।
याङवरक गाउँपालिकाले चालु आर्थिक वर्षमा पानी पर्यटन प्रवर्द्धनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार पानी पर्यटनको प्रचार–प्रसारमा योगदान पुर्याउने सञ्चारकर्मीका लागि व्यक्तिगत रूपमा एक लाख रुपैयाँको लेखनवृत्ति समेत घोषणा गरिएको छ।
फिदिमको माझीटारस्थित तमोर रिसोर्टका सञ्चालक बरूण तुम्बापोले योजनाबद्ध संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रवर्द्धनलाई निरन्तरता दिन सके पाँचथरले भविष्यमा नेपालको प्रमुख पानी पर्यटन गन्तव्यका रूपमा विशिष्ट पहिचान स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij