नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आगामी ३२औँ विश्व आदिवासी दिवस–२०८३ भव्य तथा ऐतिहासिक रूपमा मनाइने जनाएको छ। महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत साउन २४ गते काठमाडौंको खुलामञ्चमा नेपालकै सबैभन्दा ठूलो आदिवासी सांस्कृतिक तथा अधिकारमूलक अभियानका रूपमा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो।
नेफिनका अनुसार कार्यक्रममा देशभरबाट करिब ३५ हजारभन्दा बढी आदिवासी जनजातिको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपालका ५६ भन्दा बढी आदिवासी जनजाति समुदायका मौलिक संस्कृति, भाषा, परम्परा, जातीय पहिचान, सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा, मौलिक पोशाक, हस्तकला तथा परम्परागत खानाका परिकारहरूको प्रदर्शन गरिनेछ।
महासंघले विश्व आदिवासी दिवसलाई केवल सांस्कृतिक उत्सवका रूपमा मात्र नभई आदिवासी जनजातिको अधिकार, आत्मनिर्णय, भाषा, संस्कृति, पहिचान, सामाजिक न्याय, प्राकृतिक स्रोत तथा भूमि अधिकार र संविधान तथा अन्तर्राष्ट्रिय रूपमा सुनिश्चित अधिकारको पक्षमा साझा आवाज उठाउने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।
कार्यक्रममार्फत आदिवासी आन्दोलनका उपलब्धिको समीक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि साझा प्रतिबद्धता व्यक्त गरिने पनि विज्ञप्तिमा उल्लेख छ। कार्यक्रम सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समिति, युवा महासंघ, महिला महासंघ, विद्यार्थी महासंघ, चलचित्र महासंघ तथा विभिन्न सांस्कृतिक समूह तयारीमा जुटेको नेफिनले जनाएको छ।
नेफिनले कार्यक्रममा आदिवासी जनजाति समुदाय, विभिन्न संघ–संस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। “खुलामञ्चबाट विश्वलाई सन्देश” भन्ने मूल भावनासहित आयोजना हुने यस कार्यक्रमले नेपालको सांस्कृतिक विविधता, राष्ट्रिय एकता, सहअस्तित्व र समावेशी लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास महासंघले व्यक्त गरेको छ।
प्रेस विज्ञप्तिमा नेफिनका उपाध्यक्ष तथा प्रचार–प्रसार समिति संयोजक अमृतबहादुर सुनुवारको हस्ताक्षर रहेको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij