Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाबाट प्रेरक उदाहरण: भोजको खर्च कटौती गरी समाजसेवाको अभियान

दोलखाबाट प्रेरक उदाहरण: भोजको खर्च कटौती गरी समाजसेवाको अभियान

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ११ एकादशी (९ साउन, २०८३, २५ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । प्राचीन नगरी दोलखाको नक्छे टोलका प्रधान खलक (स्थायी घर) तथा हाल भीमेश्वर नगरपालिका–२, तिखातल निवासी ८४ वर्षीय ज्येष्ठ नागरिक कृष्ण बहादुर प्रधान (श्रेष्ठ)ले आफ्नो चौरासी पूजाको अवसरमा हुने तडकभडक र भोजभतेरको खर्च कटौती गरी समाजसेवामा लगाउने प्रेरणादायी निर्णय गर्नुभएको छ।

"म चौरासी पूजाको नाममा फजुल भोजभतेर खुवाउँदिनँ। मसँग भएको २ लाख रुपैयाँ बरु दिनदुःखी र विपत्तिमा परेकाहरूलाई सहयोग पुग्ने गरी अक्षयकोषमा राखौँ," भन्ने उहाँको इच्छालाई परिवारका सदस्यहरूले सहर्ष स्वीकार गरेका छन्। त्यसपछि पारिवारिक सहमतिमा बुबा कृष्ण बहादुर प्रधान (श्रेष्ठ) र आमा रत्नकुमारी प्रधान (श्रेष्ठ) को सम्मानमा ‘श्री कृष्ण रत्नकुमारी फाउण्डेशन’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको हो।

फाउण्डेशनका अध्यक्ष तथा जेठा छोरा कुमार प्रधान (श्रेष्ठ)का अनुसार, प्रारम्भिक रूपमा राखिएको २ लाख रुपैयाँको अक्षयकोषलाई तत्काल १० लाख रुपैयाँसम्म पुर्‍याउने लक्ष्य लिइएको छ। फाउण्डेशनमार्फत सुरुवातमा दोलखा जिल्लाका विपन्न, असहाय, ज्येष्ठ नागरिक तथा विपद्मा परेका परिवारलाई सहयोग गरिनेछ। आगामी दिनमा देशव्यापी रूपमा परोपकारी कार्यक्रम विस्तार गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो।

फाउण्डेशनका सचिव नारायण बहादुर प्रधान (श्रेष्ठ)का अनुसार, संस्थालाई दीर्घकालीन र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक विधान तयार पारिएको छ। फाउण्डेशनले शिक्षा, स्वास्थ्य, विपद् राहत, ज्येष्ठ नागरिक सेवा तथा सामाजिक कल्याणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्य लिएको छ।

परिवारले यस अभियानलाई एकदिने कार्यक्रममा सीमित नराखी पुस्तान्तरण गर्ने लक्ष्यसमेत राखेको छ। आगामी दिनमा नाति–पनातिसम्मले हरेक वर्ष कृष्ण बहादुर प्रधान (श्रेष्ठ)को जन्मदिनमा विशेष कार्यक्रम आयोजना गरी आवश्यकता भएका व्यक्ति तथा समुदायलाई सहयोग गर्ने संकल्प गरिएको छ।

यसैबीच, फाउण्डेशनको पहिलो सामाजिक कार्यक्रमअन्तर्गत सैलुङ गाउँपालिका–७, चर्णावतीस्थित ज्येष्ठ नागरिक सेवा भवनमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा कृष्ण बहादुर प्रधान (श्रेष्ठ)का छोराहरू, बुहारीहरू, नाति–नातिना, आफन्त, नातेदार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा फाउण्डेशनले सेवा भवनलाई भान्सामा आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरेको थियो। सामग्री हस्तान्तरणपछि आश्रममा रहेका ज्येष्ठ नागरिकहरूसँगै परिवारका सदस्यहरूले सामूहिक भोजन गरेका थिए। भजन–कीर्तन, नाचगान तथा आत्मीय भेटघाटका माध्यमबाट ज्येष्ठ नागरिकहरूसँग खुसी साट्दै कार्यक्रम सम्पन्न भएको थियो।

समाजमा चौरासी पूजा लगायतका अवसरमा बढ्दो तडकभडक र खर्चिलो संस्कृतिका बीच प्रधान परिवारले देखाएको यो उदाहरणले संस्कारसँगै सामाजिक उत्तरदायित्व पनि निभाउन सकिन्छ भन्ने सन्देश दिएको स्थानीयवासीले बताएका छन्।

फाउण्डेशनले हाल परिवारका सदस्यहरूलाई विभिन्न पद तथा जिम्मेवारी बाँडफाँड गरी संस्थागत रूपमा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तर अघि बढाउने तयारीसमेत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार