नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ११ एकादशी (९ साउन, २०८३, २५ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । नेपालको निजी हवाई सेवा प्रदायक बुद्ध एयरले आफ्नो फ्लीटमा अर्को अत्याधुनिक एटीआर–७२–६०० सिरिजको विमान थपेको छ। कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट कल साइन ९एन–एओएस भएको नयाँ विमान नेपाल ल्याएको जनाएको छ। आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि उक्त विमानलाई अर्को महिनादेखि नियमित व्यावसायिक उडानमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।
बुद्ध एयरका अनुसार नयाँ विमानमा पूर्ण ग्लास ककपिट, आधुनिक एभियोनिक्स, डिजिटल फ्लाइट म्यानेजमेन्ट सिस्टम तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्री पनि मानिन्छ।
यस विमानको प्रमुख विशेषता आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) एप्रोच प्रणाली हो। यो प्रविधिको सहायताले काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९ सय मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित रूपमा अवतरण गर्न सकिने बुद्ध एयरले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया लागू गर्ने तयारी गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयन भएपछि करिब २ हजार मिटर भिजिबिलिटी भएको अवस्थामा पनि बुद्ध एयरका एटीआर–७२–६०० विमानले सुरक्षित उडान तथा अवतरण गर्न सक्ने विश्वास गरिएको छ।
कम्पनीका अनुसार नयाँ प्रविधिले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घटाउनेछ। यसले यात्रुको सुविधा बढ्नुका साथै उडान सुरक्षा, सेवा गुणस्तर र हवाई सेवाप्रतिको विश्वसनीयता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
हाल प्रचलित इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) अनुसार पोखरा विमानस्थलमा अवतरणका लागि करिब ३ हजार १ सय मिटर, तथा काठमाडौँ र भैरहवामा १ हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्दै आएको छ।
बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर अर्को एटीआर–७२–६०० विमान पनि नेपाल ल्याउने योजना सार्वजनिक गरेको छ। साथै, आगामी केही महिनाभित्र यही सिरिजका थप दुई विमान भित्र्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
हाल बुद्ध एयरसँग एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र दुई वटा एटीआर–७२–६०० (नयाँसहित) विमान रहेका छन्। नयाँ विमान थपिएसँगै कम्पनीले देशभर सुरक्षित, आधुनिक र भरपर्दो हवाई सेवा विस्तार गर्ने लक्ष्यलाई थप बल पुगेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij