नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १० दशमी (८ साउन, २०८३, २४ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । दक्षिण कोरियाको उच्च अदालतले एआई चिप उद्योगका प्रभावशाली व्यवसायी तथा एसके समूहका अध्यक्ष चे ताए-विनलाई सम्बन्धविच्छेद मुद्दामा आफ्नी पूर्वपत्नी रोह सोह-योङलाई नौ खर्ब ४४ अर्ब वोन (करिब ६४ करोड ४० लाख अमेरिकी डलर) भुक्तानी गर्न आदेश दिएको छ। यद्यपि दुवै पक्षलाई सर्वोच्च अदालतमा पुनः अपिल गर्ने अधिकार रहेकाले फैसला अझै अन्तिम भएको छैन।
६५ वर्षीय चे दक्षिण कोरियाको प्रमुख औद्योगिक समूह एसके समूहका अध्यक्ष हुन्। समूहअन्तर्गतको एसके हाइनिक्स विश्वकै अग्रणी मेमोरी चिप उत्पादकमध्ये एक हो। कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै कम्पनीको बजार मूल्य उल्लेखनीय रूपमा बढेको छ।
यसअघि सन् २०२४ मा सोल उच्च अदालतले चेले रोहलाई १३ खर्ब ८० अर्ब वोन (करिब ९४ करोड अमेरिकी डलर) तिर्नुपर्ने फैसला गरेको थियो। उक्त रकम एक अर्ब अमेरिकी डलरभन्दा बढी बराबर भएकाले दक्षिण कोरियाली सञ्चारमाध्यमले यसलाई ‘शताब्दीको सम्बन्धविच्छेद’ को संज्ञा दिएका थिए।
चेले त्यस फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेपछि सर्वोच्च अदालतले पुनरावलोकनका लागि मुद्दा उच्च अदालतमा फर्काएको थियो। पुनः सुनुवाइपछि उच्च अदालतले भुक्तानी रकम घटाएर नौ खर्ब ४४ अर्ब वोन कायम गरेको हो।
मुद्दाको मुख्य विवाद एसके समूहमा रहेको चेको सेयरसहित दम्पतीले वैवाहिक जीवनमा आर्जन गरेको सम्पत्तिको मूल्यांकन र त्यसको बाँडफाँटलाई लिएर थियो। शुक्रबारको फैसलामा अदालतले रोह वैवाहिक जीवनमा आर्जित सम्पत्तिको करिब एकतिहाइ बराबर नगद रकम पाउने हकदार रहेको उल्लेख गरेको छ।
अदालतका अनुसार चेको व्यवस्थापकीय भूमिकाका कारण कम्पनीको सेयर मूल्य उल्लेखनीय रूपमा बढे पनि त्यस सफलतामा रोहको पनि महत्वपूर्ण योगदान रहेको देखिएको छ। घरपरिवारको जिम्मेवारी सम्हाल्नु, सन्तानको हेरचाह गर्नु तथा एसके समूहसँग सम्बन्धित सार्वजनिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेकाले रोहलाई सम्पत्तिमा हिस्सेदारी दिनुपर्ने निष्कर्ष अदालतले निकालेको हो।
चे र रोहले सन् १९८८ मा विवाह गरेका थिए। उनीहरू १५ वर्षभन्दा बढी समयदेखि अलग बस्दै आएका छन्। चेले सन् २०१५ मा विवाहबाहिरको सम्बन्धबाट सन्तान जन्मिएको सार्वजनिक रूपमा स्वीकार गरेका थिए र त्यसपछि सन् २०१७ मा सम्बन्धविच्छेदको निवेदन दायर गरेका थिए। मध्यस्थता असफल भएपछि सन् २०२२ देखि मुद्दा अदालतमा विचाराधीन रहँदै आएको छ।
रोह दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह ताए-वूकी छोरी हुन्। उनी हाल डिजिटल कला सङ्ग्रहालय सञ्चालन गर्दै सांस्कृतिक क्षेत्रमा सक्रिय छन्। दम्पतीका तीन सन्तान छन्।
यसअघि अदालतले रोहका बुबासँग सम्बन्धित ३० अर्ब वोनको गोप्य कोषलाई एसके समूहको विकाससँग जोड्दै सम्पत्ति बाँडफाँटको आधार मानेको थियो। तर सर्वोच्च अदालतले उक्त रकम अवैध घुसबाट आएको हुन सक्ने ठहर गर्दै त्यसलाई गणनामा समावेश गर्न नहुने निर्णय दिएको थियो।
पुनरावलोकनपछि अदालतले दम्पती अलग भएपछि एआई उद्योगको तीव्र विस्तारसँगै एसके समूहको सेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिलाई पनि सम्पत्ति विभाजनको आधार मानेको जनाएको छ। सार्वजनिक विवरणअनुसार सन् २०१५ यता एसके समूहको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ। एसके हाइनिक्सले एआई चिप निर्माणका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिप अमेरिकी कम्पनी एनभिडियालाई आपूर्ति गर्दै आएको छ।
हाल चेको कम्पनीमा रहेको सेयरको मूल्य करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको बताइएको छ। यसअघि सर्वोच्च अदालतले चेलाई रोहलाई दुई अर्ब वोन गुजारा भत्ता उपलब्ध गराउन छुट्टै आदेश पनि दिइसकेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij