Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, नौ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, नौ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १० दशमी (८ साउन, २०८३, २४ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । लगातारको वर्षासँगै खसेका पहिरो, सडक कटान तथा हिलाम्मे अवस्थाका कारण देशका विभिन्न प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै हाल नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे बनेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्गमा पनि यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ शहीद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भएको छ। तर, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएकाले सवारीसाधन सीमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार