Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

गगन थापालाई कांग्रेस इतर पक्षको अन्तिम अल्टिमेटम, ‘एकता नभए नयाँ कार्यदिशा’

गगन थापालाई कांग्रेस इतर पक्षको अन्तिम अल्टिमेटम, ‘एकता नभए नयाँ कार्यदिशा’

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ९ नवमी (७ साउन, २०८३, २३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापति गगन थापालाई साउन २९ भित्र सम्मानजनक पार्टी एकताको पहल गर्न सार्वजनिक रूपमा अन्तिम अल्टिमेटम दिएको छ। बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासहितका नेताहरूले नेतृत्वले समयमै पहल नगरे राष्ट्रिय भेलामार्फत ‘नयाँ कार्यदिशा’ तय गरिने स्पष्ट संकेत दिएका हुन्।

नेताहरूले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समेटेर १५औँ महाधिवेशनमा जाने वातावरण बनाउनुपर्ने माग दोहोर्‍याउँदै विशेष महाधिवेशनपछि सिर्जिएको विवादले कांग्रेसलाई गम्भीर संकटमा पुर्‍याएको बताएका छन्। उनीहरूको भनाइमा अदालत र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिए पनि त्यसले राजनीतिक विवाद समाधान गर्न नसकेको र पार्टीभित्रको असन्तुष्टि झन् बढेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अहिलेको संघर्ष पदका लागि नभई राजनीतिक वैधता, आत्मसम्मान र संगठनात्मक मर्यादाको लडाइँ भएको दाबी गरे। उनले ५४ प्रतिशत र ४६ प्रतिशतको शक्ति समीकरणभन्दा माथि उठेर सबै पक्षलाई समेट्ने राजनीतिक निर्णय आवश्यक रहेको बताए। गगन थापाले चाहे मात्रै कांग्रेसलाई पुनः एउटै संरचनामा ल्याउन सकिने भन्दै उनले नेतृत्वलाई तत्काल पहल गर्न आग्रह गरे।

शेखर कोइरालाले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको, फरक मत राख्नेहरूमाथि कारबाही बढेको र पार्टीमा स्वेच्छाचारी प्रवृत्ति हाबी भएको आरोप लगाए। उनले सभापति थापालाई व्यक्तिवादी कार्यशैली त्यागेर पार्टी एकताको पहल गर्न आग्रह गर्दै त्यसो नभए उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने चेतावनी दिए।

विमलेन्द्र निधिले कांग्रेसले बिपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’को मूल वैचारिक आधार छाड्न नहुने भन्दै पछिल्लो समय उठाइएको ‘सामाजिक लोकतन्त्र’को बहसमाथि प्रश्न उठाए। उनले वैचारिक विचलनले कांग्रेसको ऐतिहासिक पहिचान कमजोर हुने दाबी गर्दै एकता नभए राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक मार्ग तय गर्नुपर्ने अवस्था आउने बताए। उनको अभिव्यक्तिलाई कार्यक्रममा उपस्थित नेता–कार्यकर्ताले पटक–पटक ताली बजाएर समर्थन जनाएका थिए।

यस्तै, कृष्णप्रसाद सिटौलाले पनि साउन अन्तिममा हुने राष्ट्रिय भेलाले कांग्रेसको भावी राजनीतिक दिशा तय गर्ने स्पष्ट संकेत दिँदै अहिलेको अवस्था लामो समयसम्म कायम नरहने बताए। संस्थापन इतर पक्षले साउन २९ सम्म सम्मानजनक एकताको पहल नभए पार्टीको भविष्यबारे निर्णायक निर्णय लिने सन्देश सार्वजनिक रूपमा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार