पहाडको काखमा रहेको एउटा सानो तर अत्यन्तै सुन्दर गाउँ थियो। चारैतिर हरियालीले ढाकिएका होचा पहाडहरूले घेरिएको त्यो गाउँ कचौराजस्तै समथर भूभागमा फैलिएको थियो। त्यहाँ न धुवाँधुलो थियो, न सहरको कोलाहल। स्वच्छ हावा, सफा आकाश र एकअर्काप्रतिको माया–सद्भावले गाउँलाई अझ मनमोहक बनाएको थियो। त्यही शान्त वातावरणमा एउटा बालक जन्मियो र हुर्कियो।
बालक हरेक दिन आफ्ना साथीहरूसँग विद्यालय जान्थ्यो। उनीहरू खेतबारी, बाँसघारी, सल्लाघारी र खोलामाथिको फड्के तर्दै विद्यालय पुग्थे। बालसुलभ स्वभावका कारण उनीहरू कहिले वनका काफल, जामुन, चुत्रो र ऐँसेलु टिपेर खान्थे, त कहिले नयाँ–नयाँ कुरा सुनेर त्यसलाई सजिलै विश्वास गर्थे। बालमन जिज्ञासु र चञ्चल हुने भएकाले सही–गलत छुट्याउन उनीहरूलाई सजिलो हुँदैनथ्यो।
एक दिन बालकको ध्यान बाटोछेउको बाँसघारीमा उम्रिएका कलिला तामातर्फ गयो। दिनहुँ हेर्दाहेर्दै उसमा एउटा तामा भाँचेर घर लैजाने इच्छा पलायो। अन्ततः एक दिन उसले मौका पारेर एउटा कलिलो मुना भाँच्यो र झोलाभित्र लुकायो। साथीहरूले यो कुरा थाहा पाएनन्, तर घर पुगेपछि आमाले देखिहालिन्।
आमाले छोरालाई गाली गरिनन्, न त कुनै सजाय नै दिइन्। बरु उनी चुपचाप रुन थालिन्। आमाका आँसुमा गहिरो पीडा लुकेको थियो। उनले छोरालाई सम्झाउँदै भनिन्, “तिमीले दुईवटा ठूलो गल्ती गर्यौ। पहिलो, एउटा कलिलो जीवनलाई बढ्न नदिई नष्ट गर्यौ। दोस्रो, अरूको अनुमति बिना उसको वस्तु लिएर चोरीजस्तै काम गर्यौ। यस्ता साना गल्तीहरू नै पछि ठूला दुर्गुणमा बदलिन सक्छन्।”
आमाको कुरा र आँसुले बालकको मन छोयो। उसले आफ्नो गल्ती महसुस गर्यो। आमाको आँसु पुछ्दै उनीसँग माफी माग्यो र अबदेखि कहिल्यै अरूको वस्तु नलिने, प्रकृतिलाई हानि नपुर्याउने तथा असल बाटोमा हिँड्ने वाचा गर्यो।
समय बित्दै गयो। त्यो बालक ठूलो भएपछि इमानदार, दयालु र गुणवान् व्यक्ति बन्यो। बाल्यकालमा आमाले आँसुका माध्यमबाट सिकाएको त्यो पाठ उसको जीवनको सबैभन्दा ठूलो शिक्षा बन्यो।
शिक्षा: साना गल्तीलाई समयमै सच्याउन सके जीवन सही दिशातर्फ अघि बढ्छ। अरूको सम्पत्तिको सम्मान गर्नु, प्रकृतिको संरक्षण गर्नु र अभिभावकको शिक्षालाई आत्मसात् गर्नु नै असल चरित्रको आधार हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij