Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अफगानिस्तानमा भीषण बाढी: २३ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

अफगानिस्तानमा भीषण बाढी: २३ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ८ औसी (६ साउन, २०८३, २२ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी मानिस बेपत्ता भएका छन्। बाढीमा परी ८० जना घाइते भएको अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सोमबार आएको बाढीले नुरिस्तान प्रान्तका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। प्रान्तीय राजधानी पारुनसहित प्रभावित क्षेत्रका दर्जनौँ घर तथा अन्य संरचना भत्किएका छन्। बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजीमा खटिएका छन्।

अधिकारीहरूले प्रतिकूल मौसम अझै कायम रहेकाले थप जोखिम हुन सक्ने चेतावनी दिएका छन्। मौसम विभागका अनुसार आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ, हुरीबतास तथा बाढीको सम्भावना रहेको छ। यसलाई मध्यनजर गर्दै ३४ मध्ये १० वटा प्रान्तमा उच्च सतर्कता (अलर्ट) जारी गरिएको छ।

स्थानीय प्रशासनले नदी किनार, पहिरो तथा बाढीको उच्च जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षतिको विवरण संकलनको काम जारी रहेको छ।

अफगानिस्तानमा बर्सेनि मनसुन तथा आकस्मिक वर्षाका कारण बाढी र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ। गत वर्ष आएको भीषण बाढीमा ३०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने यस वर्ष मात्रै बाढी र पहिरोसँग सम्बन्धित घटनामा ११० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार