नेपाल सम्वत् ११४६, दिल्लाथ्वः७ षष्ठी (५ साउन, २०८३, २१ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पार्टी विस्तार अभियानका क्रममा मंगलबार जनकपुरधाम पुगेका बेला जानकी मन्दिर प्रवेश गर्ने क्रममा स्थानीयको विरोधको सामना गर्नुपरेको छ। विरोधका कारण केही समय त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएपछि सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो।
प्रत्यक्षदर्शीका अनुसार साम्पाङ जानकी मन्दिर प्रवेश गर्न लागेका बेला केही स्थानीयले नाराबाजी गर्दै विरोध जनाएका थिए। विरोध बढ्न थालेपछि सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै अवस्था नियन्त्रणमा लिएका थिए। त्यसपछि मन्दिर परिसर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको थियो।
यता, जानकी मन्दिरभन्दा करिब तीन किलोमिटर टाढा आयोजना गरिएको पार्टीको कार्यक्रममा भने साम्पाङलाई उनका समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए। कार्यक्रममा सहभागी समर्थकहरूले "हर्क साम्पाङ जिन्दाबाद" लगायतका नाराबाजी गर्दै पार्टी विस्तार अभियानप्रति समर्थन जनाएका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा समर्थकहरूको उपस्थिति रहेको बताइएको छ।
घटनापछि जनकपुरधामका मुख्य धार्मिक तथा सार्वजनिक क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। कुनै अप्रिय घटना हुन नदिन थप सुरक्षाकर्मी परिचालन गरिएको स्रोतले जनाएको छ।
यद्यपि, हर्क साम्पाङको मन्दिर प्रवेशमा किन अवरोध गरियो भन्ने विषयमा आधिकारिक कारण सार्वजनिक गरिएको छैन। साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा, जानकी मन्दिर व्यवस्थापन पक्ष तथा हर्क साम्पाङको टोलीबाट पनि यस घटनाबारे औपचारिक धारणा आउन बाँकी छ।
यस घटनाको वास्तविक कारण र विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेकाले आधिकारिक निकायबाट प्राप्त हुने जानकारीअनुसार थप विवरण आउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij