Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः६ षष्ठी (४ साउन, २०८३, २० जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । साउन महिनाको पहिलो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शनार्थी भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ। साउने झरीको समेत पर्वाह नगरी श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको पूजा–आराधना र दर्शनका लागि मन्दिर पुगेका छन्।

पशुपति क्षेत्र विकास कोष का सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएको हो। दर्शनार्थीको सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउन विशेष व्यवस्था मिलाइएको भए पनि पदाधिकारी नियुक्तिमा भएको ढिलाइ र जनशक्ति अभावका कारण आवश्यकताअनुसार सबै काम गर्न चुनौती रहेको उनले बताए।

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक र सामाजिक संस्थाका प्रतिनिधिहरू परिचालन गरिएका छन्। दर्शनार्थीका लागि प्राथमिक उपचारसहित आवश्यक सबै सेवा उपलब्ध गराइएको कोषले जनाएको छ।

मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएका छन् भने साँझ आरतीपछि राति ८ बजेसम्म दर्शनका लागि खुला रहने व्यवस्था गरिएको छ। विशेष पूजा बिहान ८:३० बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन हुनेछ। दर्शनार्थीको व्यवस्थापनका लागि चार वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको आगमन भए पनि अत्यधिक लाम भने नलागेको कोषले जनाएको छ।

पशुपतिनाथसँगै गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर, मक्खन महादेव मन्दिर लगायत राजधानीका विभिन्न शिव मन्दिर तथा देशभरका शिवालयमा पनि साउनको पहिलो सोमबारका अवसरमा भक्तजनको उल्लेखनीय भीड लागेको छ। श्रद्धालुहरूले भगवान् शिवको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार