नेपाल सम्वत् ११४६, दिल्लाथ्वः५ पञ्चमी (३ साउन, २०८३, १९ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकतालाई बलियो बनाउन भन्दै पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति तथा जिल्ला सभापतिहरूको बैठकपछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो।
बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको विषयमा संस्थापन इतर समूहले अव्यावहारिक र अस्वीकार्य प्रस्ताव राखेको भन्ने प्रचार निराधार, मिथ्या र भ्रामक रहेको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएका प्रस्तावमाथि २०८३ जेठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति हुन सक्ने आधारमा पाँचबुँदे प्रस्तावसहित जवाफ पठाइएको दाबी गरिएको छ।
सार्वजनिक गरिएको प्रस्तावअनुसार चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बन्ने कार्यसमितिसँग समायोजन गर्दै सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रस्ताव गरिएको छ। साथै सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने र पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने सुझाव दिइएको छ।
त्यसैगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ। क्रियाशील सदस्यताको विषयमा भने तत्कालीन महामन्त्री तथा हालका सभापति गगनकुमार थापाको संयोजकत्वमा रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने र उनीहरूको डिजिटल अभिलेखीकरण मात्र गरिनुपर्ने उल्लेख गरिएको छ। प्रस्तावमा डिजिटल इन्ट्रीलाई नवीकरणको आधार बनाएर महाधिवेशनमा सहभागी हुन पाउने वा नपाउने विषयसँग नजोड्न आग्रह गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij