Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सेती नदी थुनियो : पोखरामा पहिरोपछि पानीको सतह ५० मिटर माथिसम्म बढ्यो

सेती नदी थुनियो : पोखरामा पहिरोपछि पानीको सतह ५० मिटर माथिसम्म बढ्यो

निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सिमानामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले किनार कटान गरेपछि ठूलो पहिरो खस्दा नदीको बहाव प्रभावित भएको हो।

पहिरोले नदीको केही भाग थुनिएपछि पानी सहज रूपमा बग्न नसकेको र त्यस क्षेत्रभन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर माथिसम्म बढेको बताइएको छ। नदीको बहाव अवरुद्ध हुँदा थप पहिरो खस्ने तथा पानीको चाप बढ्ने जोखिम समेत देखिएको छ।

घटनापछि स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित प्राविधिक टोलीले घटनास्थलको अनुगमन गरिरहेका छन्। नदीको बहाव, पहिरोको अवस्था तथा सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन भइरहेको छ।

अधिकारीहरूले सेती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी नदी किनार, पुल तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र प्रशासनबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा सुधार नआएसम्म नदीको अवस्था थप परिवर्तन हुन सक्ने भएकाले प्रशासनले सतर्क रहन सबैसँग अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार