नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपालको लोकतान्त्रिक आन्दोलन, सुशासन, अर्थनीति र नागरिक अधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ ७ः४० बजे काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा निधन भएको छ। उनी ८७ वर्षका थिए।
नागरिक आन्दोलनमा सक्रिय चिकित्सक अनुप सुवेदीका अनुसार परिवारका सदस्यहरूको साथमा रहेका बेला उनको निधन भएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो। क्यान्सरको अन्तिम अवस्थाको आभास भएपछि परिवारले उनलाई घरमै राख्ने निर्णय गरेको थियो।
करिब तीन महिनाअघि क्यान्सर पुष्टि भएपछि डा. पाण्डेले आक्रामक उपचार नगर्ने निर्णय गरेका थिए। उनले पीडा कम गर्ने औषधि र आवश्यक स्वास्थ्य हेरचाहसहित घरमै आराम गरिरहेका थिए।
नागरिक अभियानकर्मी विमल अर्यालका अनुसार उनको अन्त्येष्टि शनिबार बिहान ११ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिनेछ।
डा. पाण्डे नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नागरिक अभियन्तामध्ये एक थिए। २०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनले २०४७–२०४८ सालसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सोही कार्यकालमा नेपालको संविधान २०४७ जारी भएको थियो।
२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि लोकतन्त्र पुनःस्थापनाका लागि नागरिक तहबाट सञ्चालित आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गरे। विशेषगरी २०६२–६३ को जनआन्दोलनमा लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता र शान्तिको पक्षमा उनको योगदान उल्लेखनीय मानिन्छ।
सन् १९३९ अगस्ट २० मा काठमाडौंमा जन्मिएका डा. पाण्डेले त्रिचन्द्र कलेजबाट उच्च शिक्षा हासिल गरेपछि भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि (पीएचडी) गरेका थिए।
सन् १९६१ मा नेपाल सरकारको प्रशासनिक सेवामा प्रवेश गरेका उनी १९७८ देखि १९८० सम्म अर्थसचिव बने। त्यसपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग नीतिगत विवाद भएपछि उनले पदबाट राजीनामा दिएका थिए। उनी नेपालका उत्कृष्ट अर्थसचिवमध्ये एकका रूपमा परिचित छन्।
डा. पाण्डे ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष समेत थिए। सार्वजनिक जीवनमा इमानदारी, पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा उनले निरन्तर आवाज उठाए। नेपालको अर्थतन्त्र, विकास, लोकतन्त्र, अन्तर्राष्ट्रिय सहयोग तथा सार्वजनिक नीतिसम्बन्धी विषयमा उनले नेपाली र अंग्रेजी दुवै भाषामा दर्जनौं पुस्तक लेखेका छन्।
उनले नेपालको विकासका चुनौतीलाई आर्थिक स्रोतको अभावभन्दा पनि सुशासन, संस्थागत उत्तरदायित्व, राजनीतिक संस्कार र नागरिक सहभागितासँग जोडेर विश्लेषण गर्ने गरेका थिए। सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र उत्तरदायी शासन व्यवस्थाका प्रबल पक्षधरका रूपमा उनको योगदान सधैं स्मरणीय रहनेछ।
उनको निधनप्रति विभिन्न राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय तथा सामाजिक अभियन्ताहरूले गहिरो दुःख व्यक्त गर्दै लोकतन्त्र, सुशासन र नागरिक अधिकारका क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च मूल्यांकन गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij