Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

वाग्मती सरकारको नयाँ कार्यविभाजन : ६ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

वाग्मती सरकारको नयाँ कार्यविभाजन : ६ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय कार्यान्वयनमा ल्याउँदै विनाविभागीय रहेका ६ मन्त्रीलाई विषयगत जिम्मेवारी तोकेको छ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रालय पुनर्संरचनापछि सरकारी कामकारबाहीलाई निरन्तरता दिने उद्देश्यले मन्त्रीहरूको कार्यविभाजन गरेका हुन्। निर्णयअनुसार विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी क्षेत्रको जिम्मेवारी दिइएको छ।

त्यसैगरी जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत श्रम, रोजगार तथा यातायात, सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन, किरण थापा मगरलाई स्वास्थ्य, उर्मिला नेपाललाई युवा तथा खेलकुद तथा भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण क्षेत्रको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको उल्लेख गर्दै पुनर्संरचनापछि पनि सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले अतिरिक्त जिम्मेवारी बाँडफाँट गरिएको बताए।

मुख्यमन्त्रीको सचिवालयका अनुसार संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न भएपछि प्रदेश सरकार आठ मन्त्रालय र आठ मन्त्रीको स्थायी संरचनामा सञ्चालन हुनेछ।

यसअघि शुक्रबार बिहान नै मुख्यमन्त्री बानियाँले सात मन्त्रीलाई नयाँ मन्त्रालयको जिम्मेवारी तोकेका थिए। सोही क्रममा उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैंसँग राखेका छन्।

नयाँ कार्यविभाजनअनुसार मधुसुदन पौडेलले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कञ्चनचन्द्र वादेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तमाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा बिन्दु श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार