नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आज (शुक्रबार)देखि पुनः सर्वसाधारणका लागि खुला गरिएको छ। काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु (एभियन इन्फ्लुएञ्जा) संक्रमण पुष्टि भएपछि असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आएपछि पुनः सञ्चालनमा ल्याइएको हो।
चिडियाखाना प्रशासनका अनुसार संक्रमित पक्षीहरूको उपचार, प्रभावित क्षेत्रको सरसफाइ तथा आवश्यक व्यवस्थापनका कार्य सम्पन्न भइसकेका छन्। साथै वातावरणीय नमुनाको परीक्षण गर्दा एभियन इन्फ्लुएञ्जा भाइरस नदेखिएपछि बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार आगन्तुकका लागि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश खुला रहनेछ भने सबै अवलोकनकर्ताले बेलुका ५ बजाभित्र चिडियाखाना परिसर छाडिसक्नुपर्ने व्यवस्था गरिएको छ।
चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरेर मात्रै अवलोकन गर्न आग्रह गरेको छ। यसअघि संक्रमण देखिएका खोरहरू रातो रिबनले घेरिएको जानकारी दिँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र आवश्यक दूरी कायम गर्न अनुरोध गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij