नेपाल सम्वत् ११४६, दिल्लाथ्वः२ द्वितिया (३२ अषाढ, २०८३, १६ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । धान रोपाइँको मुख्य याम सुरु भएसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै पछिल्लो १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ।
शाखा प्रमुख राजन बगालेका अनुसार उक्त अवधिमा ६६८.२०० मेट्रिक टन युरिया, २०१.८०० मेट्रिक टन डिएपी र ९९.१७५ मेट्रिक टन पोटास किसानलाई उपलब्ध गराइएको हो। हाल जिल्लाका २७८ सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार अनलाइन प्रणाली लागू भएपछि वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनेको छ। कुन सहकारीले कति मल बिक्री गर्यो, कति मौज्दात बाँकी छ भन्ने विवरण प्रणालीमै देखिने भएकाले अनियमितताको सम्भावना न्यून भएको र सहकारीहरूले दैनिक रूपमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो।
कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा वितरण गरिएको छ। त्यहाँ २३९.१५० मेट्रिक टन युरिया, १९७.०५० मेट्रिक टन डिएपी र २२.२२५ मेट्रिक टन पोटास बिक्री भएको छ। माडी, खैरहनी, रत्ननगर, राप्ती, कालिका तथा इच्छाकामना क्षेत्रका किसानलाई पनि आवश्यकताअनुसार मल उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
यस्तै, आपत्कालीन तथा विशेष आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८.२०० मेट्रिक टन युरिया र ४.०५० मेट्रिक टन डिएपी वितरण गरिएको छ।
कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवन जिल्लाभर करिब २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मलको माग रहने अनुमान गरिएको छ। सोहीअनुसार पर्याप्त मौज्दात व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने तयारी गरिएको कम्पनीले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij